पहिरोले भारतको हिमाञ्चलमा ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
दिल्ली । माटो र ढुंगाको ढिक्कासहितको पहिरो खस्दा बुधबार अपरान्ह भारतको हिमाञ्चल प्रदेशस्थित किनौरमा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।
पियो-सिमला राजमार्गमा पहिरो खस्दा सरकारद्वारा संचालित बस, ट्रक र केही कार पुरिएका छन् । सिमलातर्फ गइरहेको उक्त बसमा ४० जना यात्रु रहेको जनाइएको छ ।
रोयटर्सका अनुसार पहिरोमा २५ देखि ३० जना फसेका छन् । उद्दार गरिएका १० जना यात्रुलाई अस्पताल भर्ना गरिएको छ । उद्दारका लागि २०० भन्दा बढी सुरक्षाकर्मीलाई भारत–चीन सीमावर्ती क्षेत्रमा पठाइएको छ ।
आज रातभर समेत उद्दार कार्य निरन्तर रहने जनाइएको छ । मुख्यमन्त्री जयराम ठाकुरले राष्ट्रिय आपतकाल कार्यदलको बैठक बोलाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्रीलाई टेलिफोन गर्दै सहयोगका लागि केन्द्रीय सरकार तयार रहेको जनाएका छन् ।
केही सातायता भीषण वर्षाको कारण हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा पहिरो खसेको छ । गत महीना किनौरमै खसेको पहिरोले कार पुरिँदा ८ जना पर्यटकको मृत्यु भएको थियो ।