आरक्षणका विषयमा सर्वोच्चको फैसला पूर्वाग्रही र संविधानविरोधी छ : सांसद पार्वती विसुन्के
काठमाडौं । नेकपा एमालेका सांसद पार्वतीकुमारी विसुन्केले आरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको फैसला पूर्वाग्रही र संविधानविरोधी भएको बताएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सर्वोच्च अदातलतले सनकको भरमा फैसला गरेको आरोप लगाएकी हुन् ।
उनले भनिन्, ‘तरमारालाई होइन, सम्बन्धित वर्गलाई आवश्यकताका आधारमा आरक्षण दिनुपर्ने भनी सम्मानित सर्वोच्च अदालतले जुन फैसला गरेको छ, त्यो नितान्त पूर्वाग्रही र संवैधानिक व्यवस्थाको खिलापमा छ भन्ने मेरो ठहर हो ।’
सरकारलाई समावेशी ऐन संसदमा ल्याउन पनि उनले ध्यानाकर्षण गराएकी छन् । उनले भनिन्, ‘संविधानको धारा १८, ३८ र ४२ मा प्रस्ट व्यवस्था गरिएको छ कि आरक्षण कसका लागि र के का लागि भनेर । ती उल्लेखित धारालाई नै अपव्याख्या गरी समानताविरोधी मानसिकता बोकेका सनकदारको बहसबाट सर्वोच्च अदालतले सरकारलाई जुन आदेश गरेको छ यो आपत्तिजनक छ । व्यक्तिको सनकका भरमा न्यायालयलाई जोडिनुहुँदैन । संविधानको अपव्याख्या गरिनु हुँदैन । अविलम्ब समावेशी ऐन जनमुखी संसदमा ल्याउन सरकारको ध्यानाकर्षण गर्दछु ।’