मुख्यमन्त्री कार्यालयअघि सावित्री सुवेदीको अनौठो विरोध प्रदर्शन
कैलाली । आफूलाई महिला अधिकारवादी अभियन्ता बताउने सावित्री सुवेदी आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअघि अनौठो हुलियामा देखिइन् ।
उनी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्याय माग्न भन्दै कार्यालयको गेटमा एक्लै उभिएकी थिइन् ।
सावित्रीले ‘निर्मलालाई न्याय दे’ ‘मेरो शरीर मेरो अधिकार’ लेखिएका दुई प्ले कार्ड हातमा बोकेकी थिइन् । कालो कपडाले वक्षस्थल छोपेकी उनको छातिमा रातो अक्षरमा लेखिएको थियो- ‘बलत्कारीलाई फाँसी ।’ कालो टेपले मुख टालेकी उनले टाउकोमा पनि कालो पट्टी बाँधेकी थिइन् ।
‘सरकार अहिले कानमा तेल हालेर बसेको छ’ उनले अलिकति मुख उघारेर भनिन्, ‘जबसम्म निर्मलाले न्याय पाउँदिनन् तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’
सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने भन्दै उनले नत्र महिलाहरू चुप नबस्ने चेतावनी दिइन् । सावित्री तीनै युवती हुन् जसले केही वर्षअघि माइतीघरमा पेटिकोट लगाएर प्रदर्शन गरेकी थिइन् ।