अफगानिस्तानबाट नेपालीलाई शीघ्र र सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता गर्न एमालेको माग
काठमाडौं । नेकपा एमालले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र र सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।
आज बसेको एमाले स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले उद्दारमा जुट्न सरकारले ढिलासुस्ती गरिरहेको भन्दै बैठकले त्यसप्रति खेद व्यक्त गरेको बताए ।
‘सरकार अफगानिस्तानमा रहेका नेपालीको सुरक्षित र शीघ्र देश फिर्ती गर्ने कार्यमा किंकत्र्यविमुढ र उदासिन देखिएको छ’ ज्ञवालीले भने ।
सार्कको अध्यक्ष राष्ट्र हुनुको नाताले नेपालले सम्बद्ध सबै पक्षलाई संयम राख्न आग्रह गर्नुपर्ने समेत एमालेले माग गरेको छ । ‘नेकपा एमाले सरकारको यस्तो निस्प्रभावी र उदासिन कार्यप्रति खेद प्रकट गर्छ’ ज्ञवालीले भने ।