रक्षामन्त्रीको वार्ता प्रस्ताव ब्रिटिस गोर्खाद्वारा अस्वीकार, नेपाल-बेलायतबीच उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने बटमलाइन
लन्डन । समान पेन्सनको माग गर्दै ११ दिनदेखि आमरण अनसनमा बसिरहेका भूतपूर्व गोर्खा सैनिकले आफूहरुसँग वार्ता गर्न बेलायती रक्षामन्त्रीले राखेको प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । आन्दोलनकारी गोर्खासँग वार्ता गर्न बेलायती रक्षामन्त्री बेन वालेसले प्रस्ताव गरेका थिए ।
गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुको आमरण अनसन एघारौँ दिनमा चलिरहँदा मन्त्री वालेसले मागबारे छलफल गर्न अभियन्ताहरुसँग आफूले भेट्न चाहेको भन्दै समितिलाई ईमेल पठाएका थिए ।
सत्याग्रहका संयोजक कृष्णबहादुर राईले आफूहरु दुई जनासँग भेट गर्न रक्षामन्त्रीले राखेको प्रस्तावलाई आफूहरुले अस्वीकार गरेको बताए । ‘हाम्रो बटमलाइन् बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधि सम्मिलित उच्च स्तरिय वार्ता कमिटी गठन र मिति तोकिनु हो’ राईले भने, ‘बेलायती मन्त्रीसँग गएर हामी वार्ता गर्दैनौ । पहिला बेलायत सरकारले नेपाल सरकारको पत्रको जवाफ लेखोस् ।’
त्रिपक्षीय प्राविधिक सन्यंत्रको सिफारिस अन्तर्गत रहेर समस्याको समाधान गर्नुपर्ने उनको भनाई छ । नेपाल तथा बेलायत सरकारबीच वार्ताको लिखित ग्यारेन्टी गर्नुपर्ने समितिको माग छ । दुई देशबीच वार्ताको मिति तोक्न र वार्तामा सहभागि हुने नेपाली टोलीमा गोर्खाका प्रतिनिधि पनि सामेल गराउन पनि माग गरेको छ ।
सत्याग्रह समितिका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्प घले बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर ११ दिनदेखि आमरण अनसनमा छन् ।
मन्त्रीको इमेल प्राप्त भएपछि सत्याग्रहका संयोजक राईको भनाई छ, ‘जबसम्म बेलायतले नेपाल सरकारले झै उच्च (क्याविनेट) स्तरिय वार्ता समितिको टुंगो लगाइ वार्ता गर्छु भनेर लिखित पत्र नेपाल सरकारलाई दिदैन, तब सम्म आमरण अन्नसन छाड्दैनौं ।’