१४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दबाब, आज छलफल हुँदै – Nepal Press

१४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दबाब, आज छलफल हुँदै

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यमाथि गरिएको कारवाहीको सूचनालाई तत्काल अघि बढाउन सभामुखलाई दबाब दिएको छ ।

मंगलवार कारवाही सिफारिस गरे पनि सभामुखले प्रक्रियामा अघि नबढाएको भन्दै एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले बुधवार सभामुख अग्नि सापकोटासँग भेट्न खोज्दा समय पाएका थिएनन् ।

सापकोटा र भट्टराईबीच टेलिफोनमा कुराकानी हुँदा सभामुखले आफूले अध्ययन गरिरहेको बताएका थिए । भट्टराईले भने माओवादीले टोपवहादुर रायमाझीहरुलाई सांसदबाट पदमुक्त गरेको पत्र सचिवालयमा दर्ता हुनासाथ सभामुखले सूचना टाँस गरेको स्मरण गराउँदै एमाले फुटाउने षडयन्त्रमा नलाग्न चेतावनी दिएका थिए ।

यसैबीच सभामुख र एमालेका नेताहरुबीच आज विहान ११ बजे यसबारेमा छलफल हुने भएको छ । एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको र विभाजनकारी गतिविधिमा लागेको भन्दै माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार सभामुखले सो सूचना १५ दिनभन्दा बढी रोक्न सक्दैनन् । सभामुखले यसअघि जसपाले सरिता गिरीलाई सांसदबाट पदमुक्त गर्दा तत्कालै कार्यन्वयन गरेका थिए ।

कारवाहीमा परेका १४ जना सांसदले पनि बुधवार संसद सचिवालयमा विरोधको सूचना लगेर आफूहरुमाथिको कारवाही असंवैधानिक र गैरकानूनी भएकाले रोक्न माग गरेका छन् । तर उनीहरुको पत्र दर्ता भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर