श्रमाटनभित्रको सोमकित – Nepal Press
नियात्रा

श्रमाटनभित्रको सोमकित

केही दिनपछिको आउजाउले समस्याका चाङहरूका बीच पनि यो बिरानो मुलुकमा एउटा नम्बरी अग्राखको खाँबो मिलेको आभास भैरहेछ । सहर, बजार, समुद्रीतट हँुदै लहसिएको हाम्रो मिलनले थप नयाँ गन्तव्यको खोजी गरिरहेको छ ।

गएको रात अबेरसम्म खाओसन बजारको रात्रिकालीन जीवनसँग आत्मसात् गर्दै गर्दा प्राकृतिक रूपमा जसरी बरालिएको प्रथम लहर चुम्बनले फक्रेको यौवनको भण्डारको द्वार खोलिदिएको छ । जतिबेला लाग्थ्यो, सबै–सबै चीजहरू… मेरै अधीनमा छन् । समय मेरो वशमा छ, अर्थात् हामी दुईको वशमा छ । प्रत्येक क्षणमा भैरहेका गतिविधि मेरा लागि सबै जीवनकै प्रथम थिए । त्यसो भएर त म आफू अगाडि अदृश्य शक्तिको खटन भएको पाउँछु ।

मरुभूमि कति उजाड हुन्छ ? देखेको भरमा हामी यति नै भन्न सक्छौँ । त्यहाँ पसारिएका कणहरू त्यसका भुक्तभोगी साक्षी हुन्, जो तीव्र गतिमा चल्ने हावाको वेगले सुकुम्बासी बनाइदिन्छ । मानिसको अन्दाज केवल नजरअन्दाजमै सीमित रहन्छ । अपवाद कठिन संघर्षबाट यदाकदा खडा भएका झुप्पेली बिरुवाहरू चुपचाप प्यासी बनेर सही बसेका छन् । जहाँ मात्र एक जोडी लामघाँटी सजीव प्राणी ऊँट छ महिनाका लागि काँधमाथि जुरोमा पानी सञ्चय गरेर बसेको छ । मानौँ, तड्पिएर बसेको छ । प्रेम त कत्ति गरेको छ, गरेको छ तिनले । र, पनि सुखानुभूति प्राप्त गर्न सकेको छैन ।

ती दुईको प्रेम टेनिस स्टार आन्द्रे आगासी र स्टेफी ग्राफको जस्तो पनि हैन । जो महत्वपूर्ण प्रतियोगिता खेल्नु अघिल्लो रातसम्म पनि समागममा लिप्त बनेर थप स्फूर्तिको मजा प्राप्त गरोस् । त्यो उनैले जानून् । तर, ऊँटका आफ्नै शारीरिक समस्या छन् । तिनको प्रेमले त सहारा खोजेको छ, मात्र समागमका लागि । मन त उनका पनि अवश्य हुँदो हो । मानिसले जसरी, तसरी, कसरी पो सन्तुष्टि लिन सक्थे र तिनले । तसर्थ नयनमुखी र अन्तर्मुखीमा समाहित भएरै पनि प्यास बुझाइरहेका छन् । देख्ने मनुवाहरूलाई तिनको समागम हाँस्यास्पद र रोचक लाग्न सक्छ । तर पनि उनीहरूले तत्पश्चात् खुसीको संकेत दर्शाउँछ, लामो घाँटीमाथि उछिट्टिएको शीर हल्लाएर बोका मन्साए जसरी ।

पाँचै भित्ता सिसाको ऐनाले चम्केको छ खाओसनस्थित एक घरको पहिलो तलाको एक गुँड । हरेक चीजको मैले प्रथम अनुभव जो गर्दै थिएँ । सोमकित र म आफूलाई पाँच–पाँच ठाउँमा जो देख्दैछु । विरलै मिल्ने फरक अनुभव । आँखा त दुई–दुईवटा नै छन् फेरि ?

कतै म भव्य सिसमहलभित्र त छैन ?

कतै म मधुर निद्रामा देखिने मानसिक दृश्यसँग त छुइनँ ?

अलमलमा पर्छु ।

समयले पर्खिबसेको छैन, यो पनि थाहा छ मलाई । चौकुनाको भित्तामा हेर्छु, सपाट देखिन्छन् । त्यो एउटा घटना, परिघटना जे थियो मेरो उर्भराउँदो २२ वर्षीय उन्मादपूर्ण जीवनमा पहिलो पटक हुँदै थियो । अझ भनाँै, म आफैँले आफँैलाई पहिलोचोटि पूर्ण देख्दै थिएँ । ती पाँचभित्ते ऐनाले मेरा अनि उनका शरीरका अंगहरूको प्रत्येक नापजाँच लिँदै थियो । म मस्तै घोत्लिरहेको थिएँ । समीपमा विपरीत ध्रुवको एक्सरे जो हुँदै थियो । जीवनलाई बोध गरेर सम्मतिमै सकारेका छौँ र त यो सब सम्भव भएको छ । रतिमा रमिरहँदा लाठे भने रतन्धोले ग्रसित बनेको छ ।

हो, म दुनियाँकै सर्वोत्कृष्ट रंगमहलभित्र समाहित भएर रसास्वादन लिँदैछु । अनुभव बटुल्दैछु जीवनमै पहिलोपटक । समयको प्रवाहसँगै यौवनबाट उम्लिएका ती झोकाहरू समयनुकूल हावासँग खेल्दै गर्दा खिया लागेको जस्ताबाट ओभानो माटो फुसफुसिए जसरी मक्किएको छ । पल–पल तप्किइरहेको छ ।

मानौँ स्खलित भएको छ ।

हो, जिन्दगी यही रहेछ ।

किरण र म लजबाहिरको सडक पसलमा कुर्चीमा बसी चिया पिउँदै थियौँ, कसैले दुई हातले मेरा दुई आँखा छोपिदियो । एकाबिहानैको यस घटनाले मेरो शरीरमा उम भरिएको र स्फूर्तिपनाको आभास दिन्छ । म उनका कोमल हात हटाउन खोज्छु । तर, नाम नलिँदासम्म उनले हटाइनन् । मलाई नाम लिन गाह्रो भएको होइन । बैंककको अपरिचित ठाउँमा मप्रति यस्तो व्यवहार गर्ने सोमकित सिवाय अरू कोही हुनै सक्थेन । चाहेर पनि नचाहेजस्तै गरी नाम लिन पुगँे । जसको कारण पहिलो पटक यस्ता परिदृश्यहरू देखा पर्दै थियो मेरो जीवनका असहज घडीहरूमा । म खुसी र अलमल दुवै हँुदै थिएँ ।

‘सोमकित हौ, अरू कोही हुन सक्दनौ ।’

उनको अनुहार चन्द्रमाजस्तै उज्यालो देखेँ, मैले हात हटाउनासाथै । सायद, मेरो शब्दले उनलाई प्रभाव पारेछ क्यारे । मेरो आँखाबाट उनका कोमल हात हट्नासाथ मैले आज उनलाई फरक नै देखँे । अनायासै निस्केका यस्ता शब्दहरू भित्र कति शक्ति हुँदो रहेछ भन्ने कुरा यतिबेला उनको अनुहारले देखाउँदै थियो ।

किरणले उनलाई पहिल्यै देखिसकेको रहेछ । तर, उसैको इसाराले रोकिएको संकेत पछि दुवैको हाँसोबाट पनि झल्किन्थ्यो ।

“यति बिहानै कताबाट तिमी ?”

“दिदीको अफिसमा काम थियो, त्यसैले सँगै आएकी थिएँ ।”

“ए,… यता बस न !” कुर्सी सार्दै मैले अनुरोध गरेँ । किरणले थाई भाषामै चिया पिउँछौ भन्यो र उनले स्वीकार गर्दै टाउको हल्लाइन् ।

चिया पिउँदै थियौँ, माथि कोठाबाट ऋषव दाजु र जीवन चिया पिउनकै लागि तल ओर्लिए ।

“तिम्रो साथी उही हो ?” ऋषव दाजुले सोमकिततिर देखाउँदै सोधे मलाई ।

“हो,” मात्र भनेँ मैले ।

उनी अलिकति लजाइन् । हामीले लगभग चिया पिइसकेथ्यौँ । त्यसैले मैले उनलाई एकछिन माथि कोठामा बस्न जाऊँ भनँे । उनलाई पनि त्यहाँ अप्ठेरो लागिरहेकाले नमान्ने कुरै थिएन, सहर्ष स्वीकार गरिन् ।

किरणलाई जाऊँ भने मैले तर मानेन । ‘तिमीहरू गएर बस्दै गर, म दाइहरूसँग आउँछु’ भन्यो ।

“ल हुन्छ,” भन्दै मैले ऋषव दाजुको हातदेखि साँचो लिई सोमकितलाई अगाडि बढाएँ ।

ढोका खोलेर पुनः ढ्याप्न नपाउँदै उनले मलाई अँगालोमा बाँध्दै कुनाको सोफामा बसाइन् अनि अनुहार बिगारेर मतिर आँखा जुधाउँदै भनिन्, “मैले सुनेको, तिमी नेपाल जाँदै छौ रे !”

उनको शब्दले स्तब्ध पार्‍यो उल्टै मलाई । मैले उनलाई कुरा लुकाएजस्तो भयो । मेरो सोचाइलाई रोक्दै पुनः उनले आँखा रसिलो बनाउँदै फेरि सोधिन् ।

“किन जवाफ नदिएको ?”

“सधैँ म यहाँ यसरी कहाँ बस्न सक्छु त नि ?”

मेरो जवाफले उल्टो असर पार्‍यो उनलाई र त मुन्टो अर्कोतर्फ फर्काइन् । मैले टाउकोमा हात राखी तान्दै भनेँ, “सोमकित तिमी रिसाएकी ?”

“अनि के गरुँ त ?” उनको ठुस्केको आवाजले मलाई झनै आकर्षित गरायो ।

“म के गरुँ त ? तिमीलाई लान पनि सक्दिनँ । आफँै त अलपत्र परेको छु ।”

“यहीँ हामीसँग मिलेर बसे पनि त हुन्छ । फेरि, किरण लामो समयदेखि यतै बसिरहेको छ । खै त उसलाई भएकै छ ।”

म चाहेर पनि जवाफ दिन सक्दिनथेँ, किरण र मेरो व्यथाका बारेमा । फरक किसिमका बाध्यताहरू थिए । तै मैले सम्झाउने प्रयत्न गरँे ।

“अहिल्यै मेरो जाने निश्चित भा’को छैन । अर्को कुरा, मेरो भिसा नसकिँदै गयो भने पछि फर्कन सजिलो हुन्छ नि !”

मैले सम्झाएको ठानिन् सायद । उनले लामो सास फेर्दै भनिन्, “गएपछि त के थाहा, बिर्सिहाल्छौ नि ! मैले त्यस्तो नराम्रो त केही गरेकी छैन, किन यस्तो निर्णय गर्छौ ?”

“यी सब बाध्यता हुन् के, सोमकित ! तिमी बुझ न ।”

“अन्तर्राष्ट्रिय सीमाले यस्तो कुरामा बन्धन गराउँछ, मायाको सीमा नहुँदानहुँदै पनि,”

उनी अलिक भावुक हुँदै मलाई शब्दले झटारो हान्छिन् ।

भनिन्छ, छोटो समयमा लगाएको प्रीत छोटै समयसम्मका लागि रहन्छ रे, सायद यी सब त्यसैको प्रतिफल होला !

उनको हृदयमा गौर भावनात्मक आवेग थियो, जुन उनले बाध्यतावश पोखिन् । यही सोच्यो मेरो मनले र म यतिबेला नकार्न पनि सक्दिनथेँ ।

नकनकको आवाजसँगै ढोका घर्‍याक्क खुल्यो र हामीले सतर्कताका साथ अनुहारलाई यथास्थितिमा ल्याउने प्रयत्न गर्‍यौँ ।

ऋषव, जीवन र किरणको साथमा अर्को एक झोला भिरेको नौलो व्यक्ति भित्र छिर्‍यो । छिर्नासाथ ऋषव दाइले ‘यही भाइ हो ल’ भन्दै मतिर हात ठड्याएपछि मेरो फर्कने दिन अझै नजिक आएछ भन्ने ठानेँ । मनभित्र बेजोडसँग हर्ष र विस्मात् दुवैको मिश्रण घोलियो ।

“ल भाइ, यो पच्चीस सय भाट अहिले राख्नू, बाँकी पाँच सय पर्सि दिउँला, टिकट चैँ मलाई दिइराख्नू ।” समय अनुकूलको सम्झौता मेरो बाध्यता थियो । त्यसैले पुलुक्क सोमकितको अनुहार हेर्दै एक हातले लिएँ र अर्को हातले दिन पुगेँ ।

“सकभर पर्सिको फ्लाइटमा सिट पायो भने जानुपर्छ है !”

कस्तो दबाबजस्तो लाग्यो उसको भनाइ । तर पनि मैले सहर्ष स्वीकार्नु थियो, जो स्वीकारेँ ।

ऋषव दाइसँग पनि हात मिलाएर ती व्यक्ति बिदा भए । लाग्यो, यिनीहरूको दोस्ती पुरानै रहेछ ।

“ठीक छ नि होइन भाइ ?”

ऋषव दाइको प्रतिक्रियाले सोमकितप्रति टोलाइरहेको मेरो मगज झस्कियो । हतारमा ‘ठीकै छ दाइ’ भन्न पुगेँ । उता नाजुक बनेको सोमकितको अनुहारले बेठीक भन्न खोज्दैथ्यो ।

कस्तो सम्झौता ? अनौठो लाग्यो मलाई । हुन त मेरा हरेक क्षणहरूमा यस्तै एकपछि अर्को अनौठा अकल्पनीय घटनाहरू भइरहेका थिए ।

जीवनमा पहिलोचोटि कसैसँग यति गाढा मित्रता गाँसिएको थियो । त्यो पनि विदेशी भूमिमा, त्यसमाथि कठिन अवस्थामा । बाँच्नु मात्र पर्दोरहेछ, मानिसको जीवनमा अनेक खालका दिनहरू देखा पर्ने रहेछन् । किरणले फुत्काएका कुराहरू दिदीमार्फत सुनिसकेकामा सोमकित आज आँखा अगाडि भाषा नबुझे पनि दृश्यहरूमार्फत लगभग स्पष्ट भइन् । सुनेका सबै सही ठहरिएको देखिन् र के–के सोचेर निकै कर गरेर उनको कोठामा लगिन् !

“खाना के खाने ?” मलिन आवाजका साथ सोधिन् उनले ।

“जे छ, त्यही खाने,” छोटो जवाफ दिएँ मैले ।

“केही त भन्नूस् ?”

“मलाई खानेकुराको नाम थाहा छैन अनि के भन्नू त ? उही कोला, भात र कुतिहाउ त हो नि !”

“त्यति त थाहा रै’छ नि !” छड्के सट हानिन् मलाई ।

उनी पकाउन भान्सातिर लागिन् । म भने टीभीमा भुलेँ । टीभीमा आँखा गए पनि मेरो ध्यान भान्सातिरै थियो । उनी पनि घरिघरि के–के निहुँ पारेर मेरो सामुन्ने आइपुग्थिन् ।

मलाई पनि औडाहा हुन थालेपछि ‘के पकाउँदै हो नि’ भन्दै भान्साभित्र छिरेँ । बिस्तारै उनको मलिन अनुहारलाई केलाउँथे । वास्तवमै कसैको मायामा यसरी प्रभावित बनेको मेरो यो पहिलो पटकको अनुभव थियो । त्यो पनि फरक भाषी अनि भिन्न देशको परिवेशमा । सात समुद्रपारि भए पनि प्रेमको कुनै रङ र सीमा हुँदैन रहेछ । मलाई जस्तै उनलाई पनि त्यस्तै लाग्दो हो । बिल्कुलै फरक किसिमको प्रेमको स्वरूपका बारेमा मैले कहिल्यै कतै सुनेको पनि थिइनँ र सिनेमामा हेरेको पनि थिइनँ । इसारा र आपसी सद्भावले प्रगाढ बनाएका ती क्षण मेरो विचारमा भाषा त मात्र औपचारिकतामा सीमित थिए ।

मध्याह्न भइसकेर पनि होला, भोक दुवैलाई लागेको थियो । त्यसैले कचौराभरि खानेकुरा राखी यता म बसेकोनिर टीभी हेरेको ठाउँमै ओसारिन् । संसार विचित्र छ । मानिसको सोचाइ र मन पनि विचित्रकै हुन्छ । उनी हिजो कस्ती थिइन्, आज कस्ती छन् ! भोलि कस्तो होलिन् ? ती सब समयले नपर्खीकनै पनि प्रस्तुत गर्दाे रहे । त्यसैले होला, सोमकितलाई आज मैले भिन्न देखेको छु । हुन त उनले मलाई कस्तो ठानेकी छन् ? शब्दमा व्यक्त गरेकी छैनन् ।

“यसरी जति बस्यो, त्यति नै हामी छुट्न नसकिने गरी नजिक बन्दै थियौँ । त्यसैले सतर्क बन्नु नै राम्रो होला हैन र ?”

मेरो लामो मौनतापछिको सुझावले अँगालोदेखि अलग भएर मलाई हेरेर भन्छिन्,

“तपाईं किन यसो भन्नुहुन्छ ?”

“मैले जे भन्दैछु, ती यथार्थ हुन् ।”

“जे जस्तो भए पनि तपार्इं नजानुस् ल ?”

मेरो रोकिने अवस्था छैन भन्ने थाहा हुँदाहुँदै पनि उनी सायद मन–पेट लिँदै थिइन्, या त मनको सन्तोषका लागि औपचारिकता पूरा गर्दै थिइन् । मेरा जाने प्रक्रियाहरू सबै उनले ध्यानपूर्वक नियालिरहेकै थिइन् । त्यसैले अब उनी त्यति जोड गर्न पनि सक्दैनथिन् ।

“समय र परिस्थितिले साथ दिएमा पुनः हाम्रो भेट हुने नै छ । यति ठूलो संसारमा बाँच्ने आधार र भेट हुने उपायहरू अवश्य भेटिने छन्,” ढाडस दिँदै थिएँ म ।

“कुन आधारमा म आशा गरुँ ?” लामो सास फाल्छिन् उनी ।

“माया नै सबैभन्दा ठूलो र शक्तिशाली आधारशिला हो । विचार जस्तै व्यवहार पनि यसरी नै महान् बनिदिए उफ् …?” बीचैमा मुख फुलाएर उनले रोक्न पुगिन् ।

“किन मेरो विश्वास लागेन ?”

“लागेरै त अहिले साथमा छौँ ।”

“सोमकित ! अब म लाग्नुपर्छ । तिम्री दिदी पनि अफिसबाट आउने बेला भइसक्यो ।”

“सधैँ बस्ने भए त सायद रोक्थँे । तर, आज एकछिनका लागि म के रोकूँ ?”

निराशापन प्रचुर रहेर पनि सम्हालिएर धैर्यमा अडिग रहनु आफैँमा प्रेमको महानता थियो ।

“पर्सि के हुन्छ, थाहा छैन । भोलि उतै लजमा आऊ न ल ?”

“जाने निश्चित त भा’को छैन नि ?” शंका व्यक्त गरिन् ।

“त्यही त, भोलि बिहान त्यो मेरो टिकट लाने मानिस आइपुग्छ । अनि थाहा हुन्छ भनेको ।”

“कतै भोलि नै अन्तिम भेट त हुँदैन ?” मलाई पनि उनको शब्दले मुस्किल पारेकोे थियो ।

“त्यस्तो कुरा नगर न सोमकित, चोट मलाई पनि त पर्छ नि हैन र ?”

दुई थोपा आँसु चुहाउन कञ्जुस्याइँ गरिनन् ।

“एकछिन ल ! म ढोका लगाउँछु अनि बस स्टेसनसम्म जान्छु ।”

“ठीकै छ म गइहाल्छु नि, नजिकै छ,” मैले नचाहेरै पनि औपचारिकता पूरा गरेँ ।

मेरो औपचारिकता उनले बुझिछन् क्यारे ! हतारहतार ढोकामा ताल्चा मारी छन्द्रयाङ्ग, छन्द्रयाङ्ग चाबीको झुत्ता बजाएर दौडँदै मलाई भेटाउन आइपुगिन् । पाँच मिनेटको भित्री गल्ली पैदल यात्रा भए पनि उनले हातमाथि हात राख्दै अगाडि बढ्न छाडिनन् । म बसमा चढेर अगाडि बढिरहँदा पीडाको पोकोलाई बाँधेर मन्द मुस्कानका साथ असहज बिदाइ गरिन् ।

पुस्तक ‘श्रमाटान’बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *