सिरहाका पाँच फरार अभियुक्त एकैदिन पक्राउ
जनकपुरधाम । सिरहा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर गरे पनि फरार रहेका पाँच जनालाई एकैदिन पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका वडा १ का ३३ वर्षीय सन्तोष कामती, वडा १६ का ४० वर्षीय जाकिर मलंग, सोही वडाका रामदेव साह, लहान नगरपालिका वडा १३ का ३१ वर्षीय शिव शंकर महतो र सखुवा नन्कारकट्टी गाउँपालिका वडा ४ का २८ वर्षीय देव कुमार यादव रहेका छन् ।
कामतीलाई चोरी मुद्दामा जिल्ला अदालत सिरहाले एक महिना कैद र ३० हजार जरिवाना सजाय सुनाएको छ ।सिरहा प्रहरीका अनुसार जाकिर मलंगलाई लेनदेन मुद्दामा पाँच महिना कैद र साहलाई लेनदेन मुद्दामै दुई बर्ष कैद सजाय भएको छ ।
यस्तै महतोलाई बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना समेत अदालतले सुनाएको छ । यादवलाई लागूऔषध मुद्दामा आठ बर्ष कैद र र तीन लाख पन्ध्र हजार जरिवाना सुनाएको छ ।
अदालतले सजाय तोके पनि उनीहरु लुकिछिपी बस्दै आएका थिए । शनिवार पक्राउ परेका पाँचै जनालाई आज अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।