गैंडा तस्कर गिरोहविरुद्ध निकुञ्जद्वारा मुद्दा दायर – Nepal Press

गैंडा तस्कर गिरोहविरुद्ध निकुञ्जद्वारा मुद्दा दायर

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करीको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी लोकेन्द्र अधिकारीले पक्राउ परेका ५ जनालाई जिल्ला अदालत नवलपुरमा बुझाइएको जानकारी दिए ।

चितवन कालिकाका तारा भनिने वीरमान प्रजा, भरतपुर-२८ का रणबहादुर भनिने जीतबहादुर कुमाल, खैरहनी-६ का आरोष उप्रेती, जाजरकोट शिवालय गाउँपालिका-२ का वीरबहादुर बस्नेत, मकवानपुरको बागमती गाउँपालिका ३ का नवीन पौडेल भनिने मेखबहादुर नेपाली विरुद्ध मुद्दा दायर भएको हो ।

पाँचै जना खाग तस्करीको मुद्धामा पुर्पक्षका लागि थुनामा थिए । गैंडा मारेको मुद्दामा वीरमान चितवन र जीतबहादुर नवलपरासी कारागारमा थिए । वीरबहादुर २ वर्ष अगाडि हिरा चोरी मुद्धामा भीमफेदी कारागारमा थिए । मेखबहादुर गैंडा मारेकै मुद्दामा ५ लाख धरौटीमा छुटेका थिए । निकुञ्जको अनुसन्धान टोलीले मेखबहादुरलाई मुख्य कारोबारी औल्याएको छ । आरोष भने गैंडा मार्ने र तस्करीमा युवाहरु परिचालन गर्ने कार्यमा संलग्न थिए ।

घटना के थियो ?

२०७६ भदौ ३१ गते निकुञ्जको अमलटारी सेक्टर अन्तर्गतको बाँदरझुला मदीघौल क्षेत्रमा वयस्क भाले गैंडाको हाडखोर फेला परेको थियो । त्यसलगत्तै निकुञ्जले अनुसन्धान थालेको थियो । बन्दुक हानेर मारिएको गैंडाको खाग झिक्न बञ्चरोको प्रयोग भएको थियो ।

मारेको गैंडाको मासु समेत प्रतिवादीहरुले खाएकाे निकुन्जकाे ठहर छ । हाडखोर मार्दीघोलमै छाडेका थिए । जीतबहादुर र फरार प्रतिवादीहरु रामकुमार प्रजा, बमबहादुरले बन्दुक हानेर मारेको निकुञ्जले जनाएको छ ।

खाग चितवनको कालिका–९ को पुल नजिकै काँसघारीमा लगेर वीरबहादुरलाई बेचेका थिए । वीरबहादुरले काठमाडौंमा लगेर खाग बेचेको बयान दिएका छन् । पछि सोही खाग मेखबहादुरले लिएर ५५ लाखमा बेचेका थिए । उनले ५० लाख वीरबहादुरलाई बुझाएका थिए ।

वीरबहादुरले रकम बाँडफाड गरेको तथ्य भेटिएको थियो । चोरी शिकारीमा १५ जना संलग्न रहे पनि ५ जनामात्रै फेला परेका छन् । अन्य १० जना फरार छन् । चोरी शिकारीमा संलग्नको खोजी कार्य भइरहेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो वर्षमात्रै ६ गैंडा मृत भेटिएका थिए । जसमध्ये ५ वटा प्राकृतिक कारणले मरेका थिए । १ गैंडा चोरी शिकारीले मारेको शंका गरिएको छ । गत वर्ष ३२ वटा गैंडा मृत फेला परेका थिए । जसमध्ये ४ वटा चोरी शिकारीले मारेका थिए ।

गैंडा मार्ने, खागको कारोबार गर्ने कार्यमा संलग्न धेरैले जेलजीवन भोगिरहेका छन् । तर, अझैपनि चोरी शिकारी नियन्त्रणमा आउन सकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ (१) (क) तथा २६(१) बमोजिमको कसूर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजाय को माग गर्दै पक्राउ परेका प्रतिवादीलाई अदालत पेश गरिएको हो । आरोप प्रमाणित भएमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर