चन्द्रागिरीमा नेकपा (एस)को बैठक जारी, एमालेका ६० केन्द्रीय सदस्यको साथ – Nepal Press

चन्द्रागिरीमा नेकपा (एस)को बैठक जारी, एमालेका ६० केन्द्रीय सदस्यको साथ

काठमाडौं । नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ ।

दल दर्ताका लागि निवेदन दिएको सो समूहले बुधवार निर्वाचन आयोगमा सनाखत गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउनु पर्नेछ । एमालेको तत्कालीन २०३ सदस्यीय केन्द्रीय कमिटीका कम्तिमा ६० जना सदस्य आफ्नो पक्षमा रहेको बैठकस्थलबाट केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

नेपाल पक्षमा एमालेका २६ जना सांसद पुगेको दावी गरिएको छ । बैठकले अन्तरिम विधान, घोषणापत्र र नियमावली पारित गर्नेछ ।

साहले नेपाल प्रेससँग भने–५० जना उपस्थित भइसक्नुभएको छ,केही बाटोमा आउँदै हुनुहुन्छ । चारजना विरामी हुनुहुन्छ । हामीसँग एमालेको हाल कायम रहेका १९१ मध्ये ६१ जना केन्द्रीय सदस्यको साथ रहनेछ । केन्द्रीय कमिटीको ३० प्रतिशत र संघीय संसदको २० प्रतिशत पुर्याउँदैछौं ।

यसैबीच सुदूरपश्चिमबाट भीम रावल निकट दीर्घ सोडारी र तारा लामा तामाङ पनि माधव नेपाल पक्षमा लागेका छन् । प्रेम आले, विना बुढाथोकी, निरा जैरु लगायतका सांसद तथा केन्द्रीय सदस्य यसअघि नै नेपाल पक्षमा लागेका थिए ।

२६ सदस्यीय एमाले स्थायी कमिटीबाट भने बैठकमा माधव नेपाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालमात्र छन् । झलनाथ खनालको समर्थन रहे पनि उनी दिल्लीमा छन् भने वामदेव गौतम बैठकमा सहभागी भएका छैनन् ।

नेपाल निकट अन्य १० जना स्थायी कमिटी सदस्यले सोमवार अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर १० बुँदे सहमति कार्यन्वयनमा जाने समझदारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर