सडकमा फोहोर नफाल्न महानगर प्रमुखको अपील – Nepal Press

सडकमा फोहोर नफाल्न महानगर प्रमुखको अपील

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने वताएका छन् ।

बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले भने, ‘तपाईंहरु त्यहाँको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सक्छौं ।’

शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भइरहेको पनि जानकारी दिए । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसेकको हौं ।’

उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिवद्धता व्यक्त गरे । साथै केहि दिन जथाभावी सडकमा फोहोर नफाल्न र कुहिने तथा नकुहिने फोहोर छुट्याएर सकेसम्म दुर्गन्ध कम गर्ने प्रयासमा लाग्न शाक्यले अनुरोध गरे ।

अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उनले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताए । ‘कसैले कसैलाई दोष लगाएर मुक्त हुनुहुँदैन,’ उनले थपे, ‘हामी सबैलले समन्वयमा फोहोर व्यवस्थापन गर्नुपर्छ । मुख्य गरेर सहरी विकास मन्त्रालयले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा हामी व्यवस्थापन गर्न सक्छौं ।’

‘सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । यी ट्रकले लगेको फोहोर पनि भ्याली १ को क्षमता बढाएर व्यवस्थापन हुँदै आएको छ । यही कारण सहरभित्रको नियमित फोहोर उठाउन थप समस्या भएको छ । उनले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारीबाट काठमाडौँ महानगपालिका पछि नहटेको दावी गरे ।

सिसडोल ल्याण्डफिल्ड साइटका साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फाहोर व्यवस्थापन गर्दा कठिनाइ भएको बताए।

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी—कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यो काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले पुर्‍याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो ।

यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्यांक यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५ सय १६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *