पाराओलम्पिकमा पलेशाले आज खेल्दै
काठमाडौं । पारा ओलम्पिकका लागि टोकियोमा रहेकी पारातेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले आज आफ्नो चुनौती प्रस्तुत गर्दैछिन् ।
पारातेक्वान्दोको के४४ विधा अन्तर्गत ५८ केजीमूनि तौलसमूहमा सुरुआती खेलमा उनले बेलायती बेथ मुनरोको सामना गर्नेछिन् ।
१८ वर्षीय पलेशाले पाराओलम्पिकमा पदकको लक्ष्यसहित टोकियो प्रस्थान गरेकी थिइन् । दुई खेल जितेको अवस्थामा उनको पदक निश्चित हुनेछ । तर पहिलो खेलमै पराजित भए पनि अर्को अवसर हुनेछ । रिपिचेगमा जित हासिल गर्न सके कांस्य पदक जित्न सकिनेछ ।
उनको तौलसमूहको फाइनल पनि आजै हुनेछ । पारातेक्वान्दोको यो तौलसमूहमा ११ खेलाडी समावेश छन् ।
सन् २०१६ देखि पारातेक्वान्दो राष्ट्रिय टोलीमा परेकी काठमाडौंकी पलेशाले ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिइसकेकी छन् भने उनी एसियन पारातेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता पनि हुन् ।