वृहत् नागरिक आन्दोलनले भन्यो- वैदेशिक मामिलामा गठबन्धन सरकारले अविश्वास, आशंका र अन्योल बढायो – Nepal Press

वृहत् नागरिक आन्दोलनले भन्यो- वैदेशिक मामिलामा गठबन्धन सरकारले अविश्वास, आशंका र अन्योल बढायो

काठमाडौं । वृहत् नागरिक आन्दोलनले सरकारले वैदेशिक मामिला संचालनमा अविश्वास, आशंका र अन्योल बढाएको आरोप लगाएको छ । त्यस्तै भारतीय सुरक्षाकर्मीले तुइनबाट महाकालीमा खसालिएका जयसिंह धामीमाथि सरकारले निभाउनुपर्ने कर्तव्यमा समेत शिथिल देखिएको भन्दै आपत्ति जनाएको हो ।

‘मन्त्रिपरिषद्लाई पूर्णता दिन अकर्मण्य रहेको देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रका मामिला समाधानतर्फ अग्रसरताको सट्टा वैदेशिक सम्बन्धमा अविश्वास, आशंका र अन्यौल बढाउने खतरा देखाएको छ,’ शुक्रबार समाजिक सञ्जालमार्फत भनिएको छ, ‘भारतीय सुरक्षाकर्मीले तुइनबाट महाकालीमा खसालिएका जयसिंह धामीमाथिको जघन्य अपराधउपर भारतसँग जवाफ माग्ने, दोषीलाई दण्डित गराउने र सीमामा नेपालीको सुरक्षा सुनिश्चित गराउने कर्तव्यमा सरकार शिथिल रहनु आपत्तिजनक छ ।’

त्यस्तै चीनतर्फको सीमा अध्ययन गर्ने भन्दै कार्यदल बनाएर पनि सरकारले कूटनीतिलाई रणनीतिक बनाउन खोजेको टिप्पणी गरेको छ । ‘यसैबीच मन्त्रिपरिषदले हुम्ला सीमामा चीनबाट नेपाली भूमि अतिक्रमण भएको अध्ययन गर्न कार्यदल बनाएको औपचारिक घोषणा गरेर कूटनीतिमा आवश्यक कौशल बेवास्ता गरेको मात्र होइन, छिमेकीहरूसँगको सम्बन्धलाई विषयको संवेदनशीलताभन्दा रणनीतिक बनाउन खोजेको छ,’ विज्ञप्तिमा भनिएको छ।

अमेरिकी साहायता परियोजना एमसीसीमा बलमिच्याइँ र ध्रुवीकरण निम्त्याउन खोजेर अपरिपक्वता प्रकट गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘विदेश सम्बन्धलाई अविश्वसनीय बनाउने र देशभित्र अनावश्यक विवाद सिर्जना गरी राष्ट्रका प्रमुख संकटहरू सम्बोधन गर्नबाट वञ्चित रहने प्रवृत्तिविरूद्व हामी खबरदारी गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर