आज ऋषिपञ्चमी, गौरिघाटमा स्नान गरी सप्तऋषिको पूजा गर्दै ब्रतालु (तस्बिर र भिडिओ) – Nepal Press

आज ऋषिपञ्चमी, गौरिघाटमा स्नान गरी सप्तऋषिको पूजा गर्दै ब्रतालु (तस्बिर र भिडिओ)

काठमाडाैं । आज ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

वागमतीको गौरिघाटमा स्थान गरी सप्तऋषिको पूजा गर्नेहरुको भीड लागेको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले घरमै पूजा गर्न भने पनि दर्जनौंको संख्यामा व्रतालुहरु नजिकको गंगामा स्नानका लागि पुगेका छन् ।

रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । राजस्वला हुनु महिलाको शारीरिक तन्दुरुस्तीको पाटो भएकाले यसलाई कुरितीमा जोडेर व्यवहार गर्न हुने कतिपय अधिकारवादीहरुको मत छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

आज काठमाडौंको गौरिघाट, टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर