इलोन मस्क : सपनाको उडान, महत्वाकांक्षा र मंगल ग्रह
धनी हुनु भनेको के हो ? बीबीसीसँगको गफगाफमा इलोन मस्क भन्छन् : धनी हुनु भनेको पैसासँग सम्बन्धित कुरा हैन । मसँग अहिले कति पैसा छ भन्ने कुरा मलाई नै थाहा छैन ।
अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर विश्वकै धनी व्यक्ति कहलिएपछि टेस्ला र स्पेस–एक्सका उद्यमी मस्कको टिप्पणी हो यो । विद्युतीय कार कम्पनीको सेयर मूल्य वृद्धि भएपछि उनको कूल सम्पत्ति १८५ अर्ब अमेरिकी डलर पुगेको छ ।
ब्लुमबर्ग म्यागजिन भन्छ : मस्क नम्बर वान धनी हुन् । फोर्ब्स म्यागजिन भन्छ : मस्क तेस्रो नम्बरका धनी हुन् । निष्कर्ष के हो भने : उनी निर्विवाद धनी हुन् । उदार लोकतन्त्रमा रुचि राख्ने स्वभावका मस्कलाई बुझ्नेहरु भन्छन् : उनी यस्ता धनी हुन् जसलाई गणितसँग मतलब छैन । बरु उनी विज्ञान, राजनीति र कलाका पारखी हुन् । हुनसक्छ यही कारण उनी अन्तरिक्ष पर्यटनमार्फत मंगल ग्रहमा बस्ती बसाउने कल्पना गर्दैछन् । हुनसक्छ यही कारण उनी नासा र टम क्रुजसँग मिलेर अन्तरिक्षको शुन्य गुरुत्वाकर्षणमा फिल्म सुट गर्दैछन् ।
धनी हुनु र सफल हुनुको खास सूत्र छैन । तर, इलोन मस्कको लागि धनी हुनुको मौलिक परिभाषा छ । व्यवहारवादी अर्थशाष्त्रमा एउटा चर्चित उक्ति छ : हरेक शाष्त्रको केन्द्रमा मान्छे हुन्छ ।’ मस्क यही प्रवृत्तिलाई पछ्याउँछन् र त उनी अलग खालका धनी हुन् जो सिलिकन भ्याली केन्द्रित कपोर्रेट पुँजीवादलाई मन पराउँदैनन् । आलोचकले करलाई कारण देखाएपनि टेस्ला मोटर उत्पादन कम्पनीलाई क्यालिफोर्नियाबाट टेक्सस सार्नु पछाडि सिलिकिन भ्यालीप्रति उनको असन्तुष्टिको रुपमा बुझ्न सकिन्छ ।
वालस्ट्रिट जर्नलले हालै आयोजना गरेको अमेरिकी सीइओ सम्मेलनमा इलोन मस्कका टिप्स गजब सुनिए । ‘के अमेरिकी कर्पोरेट संसारका सीइओहरु उत्पादनमा सुधार गर्न केन्द्रित छन् ? मलाई लाग्छ यसको उत्तर छैनन् भन्ने हुन्छ’ मस्क भन्छन्, ‘सीइओहरु पैसाभन्दा सेवा र वस्तुको गुणस्तर सुधारमा केन्द्रित हुनु जरुरी छ । आफ्नो उत्पादनलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ ।’ सीइओलाई उनको अर्को प्रश्न छ –तपाइँहरु पछि हट्नूस र सोच्नुस कि के हाम्रा उत्पादन हुन सक्नेजति उत्कृष्ट छन् त ?’
अमेरिकी सीइओहरुले बैठक र पावर प्वाइन्ट प्रेजेन्टेसनमा कम समय तथा फ्याक्ट्री र ग्राहकसँग बढी समय व्यतित गर्नुपर्ने मस्कको सुझाव छ ।
अमेरिकी सीइओहरुले बैठक र पावर प्वाइन्ट प्रेजेन्टेसनमा कम समय तथा फ्याक्ट्री र ग्राहकसँग बढी समय व्यतित गर्नुपर्ने मस्कको सुझाव छ । ‘कम्पनीले गर्ने सबै कामको अन्तिम उद्देश्य भनेको आफ्ना उत्पादन र सेवालाई लिएर ग्राहक, गैरग्राहक र सबै क्षेत्रबाट नकारात्मक टिप्पणी नआओस् भन्ने हो’ मस्क भन्छन्, ‘कुनै पनि कार्यकारी ओहोदामा बसेको मान्छे गुणस्तर सुधारमा विज्ञ हुँदैन । लगातारको सिकाइ उसको कला हो ।’
पछिल्लो समय संसारका सफल मान्छेहरु उद्देश्यको केन्द्रमा पैसा हुनुहुँदैन भन्नेमा एकमत छन् । जस्तो हलिउड फेसन डिजाइर प्रबल गुरुङ हालको विश्व शिक्षापद्धतिप्रति असन्तुष्ट सुनिए । उनको विचारमा पछिल्लो समयको शिक्षाले कसरी चाँडो पैसा कमाउन सकिन्छ भन्ने बारेमा मात्र तन्नेरी पुस्तालाई सिकाएको बारे उनको आपत्ति छ । गतवर्ष पाटन दरबार स्क्वायरमा आयोजित छलफलमा गुरुङले नेपाली युवापुस्तालाई जीवन, दर्शन र कलाबारे पनि जानकार हुनु आवश्यक रहेको खाँचो औंल्याएका थिए ।
व्यवहारवादी अर्थशाष्त्रका ज्ञाता थोमस पिकेटीको बहुचर्चित पुस्तक ‘क्यापिटल इन द ट्वेन्टी फस्ट सेन्चुरी’मा उल्लेख छ –पछिल्लो समय शक्तिले हैन, बजारले शक्तिलाई निर्देशित गरिरहेको छ । पछिल्लो समय बजारले सम्बन्ध, अपेक्षा र सपनाहरुलाई गाइड गरिरहेको छ ।’ पछिल्लो समय आधुनिक मार्क्सको उपमा पाएका पिकेटीले व्यवहारवादी अर्थशाष्त्रले विपन्न मुलुकलाई कसरी निर्देशित गरिरहेको छ र असमानताको खाडल निर्माण गरिरहेको छ भन्ने कुरा उल्लेख गरेका छन् । उनको यो तर्क कोरोनाभाइरस महामारीको समयमा बढिरहेको सम्बन्ध विच्छेद र असन्तुष्टिको बढ्दो ग्राफको एउटा उदाहरण हो ।
पुनः इलोन मस्कतिरै फर्कौं । धनी हुनु भनेको मस्कका लागि पैसा खातामा हुनु होइन । व्यापारप्रति मस्कको यो केन्द्रिय प्रवृत्ति हो । सन् २०१४ मा बीबीसीमा दिएको अन्तर्वार्तामा उनले आफूसँग कति पैसा छ भन्ने कुरा आफूलाई थाहा नभएको बताएका थिए । उनी भन्छन् : नगदको खात मसँग छ भन्ने मुख्य कुरा हैन । यो त्यति मात्र हो कि मसँग टेस्ला, स्पेसएक्स र सोलारसिटीका लागि केही मतहरु छन् । बजारमा यी मतको मूल्य छ ।’ सम्भवतः कर्पोरेट जगतका लागि यो भन्दा भयंकर जवाफ अर्को हुनसक्दैन ।
‘वास्तवमा भन्ने हो भने धनले मात्र मलाई तानेको छैन । धनी हुनुको खास कारण हो यो’ उनी भन्छन् । जतिबेला संसार वातावरण मैत्री बन्ने सपना बुन्दै थियो, त्यही बेला मस्कले विद्युतीय कारको परिकल्पना गरे अनि जन्मियो टेस्ला । गएको एक वर्षमा यसको सेयर मूल्य बढेर ७०० अर्ब डलरभन्दा बढी भयो । तर, ५० वर्षे मस्कलाई सँधै धनी भइरहने कुरामा कुनै आकर्षण छैन । उनी आफ्नो सबै पैसा मंगलग्रहमा एउटा स्टेसन निर्माण हुने काममा खर्च हुने ठान्छन् र त्यसका लागि उनको सम्पूर्ण भविष्य सकिएपनि आश्चर्यचकित हुनेछैनन् ।
पैसा बैंकमा राखेर विश्वका लागि केही पनि नगर्ने आरोप खेपिरहेका बिल गेट्सभन्दा इलोन मस्क भिन्न छन् । गेट्सले केही पनि नगरेर असफल भएको आरोप मस्क लगाउँछन् । उनलाई पैसा बैंकमा राखेर जीवन समाप्त गर्नु छैन । धनी हुने मस्कको अर्को गोप्य हतियार हो आशावादी र कल्पनातित बन्नु । मंगल ग्रहमा आधार बनाउने उनको सपनाको अर्थ उनको आशावादितको लेभल कति उचाइमा छ भन्ने हो । अमेरिकी अन्तरिक्ष कार्यक्रमसँग महत्वाकाङ्क्षा नभएकाले त्यसको विकल्पमा स्पेसएक्स कम्पनी स्थापना गरेको उनको भनाई छ ।
उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मंगल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन, भ्याकुम टनेलमा द्रुत गतिको रेल गुडाउन चाहन्छन्, आर्टिफिसियल इन्टिलेजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा एवं ब्याट्री उद्योगलाई बढाउन चाहन्छन् ।
‘म पृथ्वीभन्दा बाहिर जाने, मंगलमा एक व्यक्तिलाई खडा गर्ने, चन्द्रमामा आधार बनाउने र अन्तरिक्षमा लगातार उडानहरु भर्ने सपनाहरु देखिरहेको छु’ मस्क भन्छन्, ‘महत्वपूर्ण कुरा त के हो भने, स्पेसएक्सको उद्देश्य पैसा कमाउनेभन्दा पनि मंगल ग्रहमा मान्छे उतार्ने हो ।’
हुनसक्छ यही कारण, उनले अमेरिकी अन्तरिक्ष कार्यक्रममा रुचि देखाएनन् बरु अन्तरिक्ष प्रविधि निकै महंगो भएकाले विश्वकै सबैभन्दा सस्तो रकेट लन्चिङको ब्यापार गरे । अहिले मस्कसँग मंगल ग्रहमा एउटा सानो ग्रीन हाउसलाई पठाउने ‘मार्स ओएसिस मिसन’को योजना छ ।
मस्क विचित्रका मान्छे छन् । उनको अर्को धनी बन्ने सूत्र चाहिँ ठूलो कुरा सोच्न नडराउनू हो । उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मंगल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन, भ्याकुम टनेलमा द्रुत गतिको रेल गुडाउन चाहन्छन्, आर्टिफिसियल इन्टिलेजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा एवं ब्याट्री उद्योगलाई बढाउन चाहन्छन् । युवापुस्तामा अमेरिकी सपनाको स्तर ओरालो लागिरहेको बेला मस्क सपनाको हैसियतलाई उकालो लगाउने एक उदाहरण हुन् ।
हुन त सभ्यताको विकास कथा र त्यसको द्धन्द्धबाट निर्माण हुने हो । मस्कले देख्ने यी सपनाको व्याख्या र चित्रण सन् १९८० ताका बालबालिकाहरुको लागि प्रकाशित हुने पत्रिकाहरुमा भविष्यको कल्पना गरेर लेखिएका कथाहरुमा गरिएका हुन्थे ।
मस्क यो भन्न हिच्किचाउँदैनन् कि, उनी जन्मिएको थलो दक्षिण अफ्रिकामा बालक छँदा हेरेका फिल्म र पुस्तकबाट प्रभावित थिए । आइन्स्टाइनले उहिल्यै भन्दिएका थिए –ज्ञानभन्दा महत्वपूर्ण कुरा कल्पनाशिलता हो ।’ आइन्स्टाइनको यो उक्तिसँग मस्कको जीवन निकै प्रभावित छ ।
उनी अहिलेका कम्पनीहरु न्यून महत्वाकाङ्क्षा लिएर अगाडि बढिरहेको बताउँछन् । हुन त, मस्क अरुले मोल्नेभन्दा बढी नै खतरा मोल्न रुचाउने व्यक्ति हुन् । यसको संकेत उनको परिकल्पना र सपनामा चित्रित छ । उनी जतिबेला ३० वर्षका थिए र उनको बैंक खातामा २० करोड डलर थियो ।
उनको उद्देश्य आधा व्यापार र आधा भविष्यमा लगाउने थियो । तर, उनी सुरुमा व्यवसायका अँध्यारा दिनबाट बाहिर आउने प्रयत्नमा थिए । स्पेसएक्सका पहिला तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो । त्यसपछि आर्थिक मन्दी आयो ।
यसबेला उनीसँग दुई विकल्प थिए : एउटा -या त पैसा आफूसँग राख्ने र अर्को –कम्पनीहरुलाई बेचिदिने । संकटका बाबजुद पनि उनले पैसा लगानी गर्दै गए । ऋणमा डुबेका लागि जीवन निर्वाहको लागि उनले साथीहरुसँग पैसा माग्नुपर्यो । उनलाई यतिबेला पनि रत्तिभर डर लागेन । डर एउटा कुरामा मात्र थियो्, त्यो हो –आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्छ कि भन्ने ।
इलोन मस्कको जीवन र विचारको निष्कर्ष के हो भने –बजार वस्तु बेच्छ तर चेतना बेच्दैन । आइफोनको प्याकेजमा चेतना पनि प्याक भएर आउँदैन । चेतना निर्माणका लागि कल्पनाशिलता जरुरी हुन्छ र वस्तुको गुणस्तरका लागि कल्पनाशिलता अपरिहार्य हुन्छ ।
मस्कको सफलताको अर्को सूत्र हो : आलोचनालाई बेवास्ता गर्नु । सुरुवातमा उनले स्पेसएक्स र टेस्लाले कति कमाउला भनेर सोचेनन् । हुनसक्छ, यतिबेला अरुले पनि यस्तै सोचेका थिए । सबै आलोचनालाई बेवास्ता गरे र उनी अघि बढे । यस्तो गर्दा निर्णय क्षमताको विकास हुने र चाहेको कुरामा केन्द्रित हुन सकिने उनको ठम्याइ छ ।
आफैमा रमाउने उनको बानी छ र उनी यसलाई सफलताको अर्को सूत्र मान्छन् । एकदमै काम गर्ने भनेर चर्चित छन् मस्क । टेस्ला मोडेल ३ का लागि उनले लगातार १२० घन्टा काम गरेको बताइन्छ । चाहे विवादस्पद ट्वीट गरेर होस्, चाहे भाइरस लकडाउनविरुद्ध अभिव्यक्ति दिएर होस उनका यी स्वभाव उनको सफलतामा प्रेरक बनेका छन् ।
उनी क्रिटिकल थिंकिङ (आलोचनात्मक चेत)मा रुचि राख्छन् । ‘यदि तपाइँ बटमलाइनमा मात्र केन्द्रित हुनुहुन्छ भने समय बर्बाद गर्दै हुनुहुन्छ’ युवाहरुलाई उनको सुझाव छ, ‘आधुनिक अमेरिकी कर्पोरेट क्षेत्रको सबैभन्दा विडम्वना भनेको एमबीए ग्राजुएटले कम्पनीहरु हाँक्नु हो ।
किनभने उनीहरुसँग महत्वाकाङ्क्षाको निकै अभाव छ ।’ मस्क अमेरिकी कम्पनीहरु हिजोआज कन्फ्युज भएको बताउँछन् । उनीहरु उत्पादनलाई गुणस्तरिय बनाउनेभन्दा पनि वस्तुमा लगानी गरिरहेका छन् । टेस्लाबारे मस्क भन्छन् –हामीले टेस्लाको प्रचारप्रसारमा लगानी गरेनौं तर यसको गुणस्तर सुधार्न मिहेनत गर्यौं ।
इलोन मस्कको जीवन र विचारको निष्कर्ष के हो भने –बजार वस्तु बेच्छ तर चेतना बेच्दैन । आइफोनको प्याकेजमा चेतना पनि प्याक भएर आउँदैन । चेतना निर्माणका लागि कल्पनाशिलता जरुरी हुन्छ र वस्तुको गुणस्तरका लागि कल्पनाशिलता अपरिहार्य हुन्छ ।
मस्क भन्छन –समस्या मात्र समाधान गर्न, बिल तिर्न र मर्नको लागि जीवन एकदमै छोटो छ । आफूले प्राप्त गरेको जीवनमा रमाउन र जीवनको शक्तिलाई अनुभूत गराउनेतर्फ अगाडि बढ्नुपर्छ । मन नपर्ने काम गरेर आफूलाई सजाय दिनु बुद्धिमानी होइन । उनै मस्क यतिबेला विश्वकै सर्वाधिक धनी व्यक्तिमा रुपान्तरित भएका छन् र उनको एड्भेन्चर एवं कल्पनाशिलता विश्वकै युवापुस्तालाई मार्गदर्शन बनेको छ ।