‘राइजिङ नेपाल’ भन्दा ‘गल्फ टाइम्स’ मा व्यापक कभरेज, विज्ञ भन्छन्- मिडिया कुटनीतिमा कमजोरी देखियो – Nepal Press
कतारी राजाको भ्रमण

‘राइजिङ नेपाल’ भन्दा ‘गल्फ टाइम्स’ मा व्यापक कभरेज, विज्ञ भन्छन्- मिडिया कुटनीतिमा कमजोरी देखियो

काठमाडौं । पहिलो जनआन्दोलनपछि संयुक्त राष्ट्रसंघका लागि नेपाली कुटनीतिज्ञ भएर पुगेका जयराज आचार्यलाई देशहरूको सम्बन्धमा आमसंचारको सेतु अर्थात् मिडिया कुटनीतिको अर्थ नजिकबाट थाहा छ । उनले यसको महत्व नेपालको कुटनीतिक हस्ती यदुनाथ खनालबाट थाहा पाए । कुरा नेपालको चीनसँग जोडिएका उत्तरी सीमाबाट भारतीय वायरलेस अपरेटर हटाउने बारेमा थियो ।

यो कुरा भारतसँग खरो कुरा गर्न राजा महेन्द्रले आफैं सार्वजनिक सम्बोधन गरेर पहल गर्ने बताए । भाषण लेख्न उनले तत्कालीन परराष्ट्रसचिव यदुनाथ खनाललाई अह्राए । खनालले राजाले गरेको कदम असफल भएमा धेरै नराम्रो सन्देश जाने भन्दै बरु त्यो काम प्रधानमन्त्रीबाट गर्न सुझाए । त्रिचन्द्र कलेजका आफ्ना पूर्वविद्यार्थीसमेत रहेका प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई कुटनीतिज्ञ खदुनाथ खनालले अंग्रेजी अखबारमा अन्तर्वार्ता गर्न भने । प्रश्न पत्रकारको थिएन । यदुनाथ खनालको थियो । उत्तर कीर्तिनिधि विष्टको थिएन । यदुनाथ खनालकै थियो । प्रकाशन मात्रै दि राइजिङ नेपालमा भयो । प्रकाशन सन् १९६९ जुन २५ (२०२६ असार ११ गते) प्रकाशन भयो । सन् १९७० अगस्टभित्र भारतीय सेना हट्नुपर्ने विष्टको नाममा अन्तरवार्ता प्रकाशन भयो । परिणाम सकरात्मक आयो । भारतीय वायरलेस अपरेटरहरू उत्तरी चेकपोस्टबाट हटि छोडे ।

देशहरूका बीचमा भएका भूराजनीतिक जटिल मुद्धाहरू पनि मिडिया कुटनीतिबाट पार लागेको नेपालको एक देखाउन लायक उदाहरण खदुनाथ खनालका जीवनीकार तथा पूर्वकुटनीतिज्ञ जयराज आचार्यको यो सवाल हो । सहजै पार लाग्ने मुद्दामा त झनै मिडिया कुटनीति आवश्यक भएको जानकारहरू बताउँछन् । मंगलबारबाट दुई दिने राजकीय भ्रमणमा नेपाल आएका कतारी राजासँगको कुटनीतिक मोर्चामा मिडिया कुटनीति कमजोर देखिएको छ । उदाहरणका लागि नेपाल र कतारका सरकारी मिडियाहरू खासगरी एकअर्काले बुझ्ने भाषा अंग्रेजी दैनिकमा भएका खबर हेरौँ ।

नेपाल सरकारको स्वामित्वमा भएको दि राइजिङ नेपालमा कतारी राजाको नेपाल भ्रमणको सवालमा अखबारको प्रथम पृष्ठमा मात्रै समाचार राखिएको छ । नेपाली राष्ट्रपति रामचन्द्र पौडेल र कतारी राजा शेख तामिम बिन हमाद हल थानीसँगको भेट, हिमाली र पानीको क्षेत्रका जलवायु मुद्दा र दुई देशको व्यापार, पर्यटन तथा लगानी क्षेत्रका सवालको छोटकरी समाचार प्रकाशन गरिएको छ । यस्तै कतारी राजालाई दिइएको २१ तोपदेखि नेपाली सेनाको खास सुरक्षाको कुरा प्राथामिकतामा प्रकाशन गरिएको छ । नेपालका लागि कतारी राजदूत, कतारका लागि नेपाली राजदूतसँग राइजिङ नेपालले कुरा गरेको छैन । कतारमा लगानी गरेका गैरआवासीय नेपालीहरू र नेपालका लगानी गर्न चाहने कतारी सम्भावनाको क्षेत्र, बहस र जानकारी राइजिङ नेपालले आफ्नो कुनैपनि खास पेजमा प्रकाशन गरेको छैन । आजै नेपालबाट कतार फिर्ने कतारी टोलीले नेपालमा लगानी गर्नेबारेमा नोटिस गर्ने खालको कुनै खुराक राइजिङ नेपालले प्रकाशन गरेन ।

सम्पादकीय, व्यापारदेखि आलेखमा कतारी राजाको नेपाल आगमन, नेपालमा कतारी लगानी, नेपाली श्रमक्षेत्रमा कतारले सुधार्न आवश्यक क्षेत्रका कुनै कुरालाई राइजिङ नेपालले स्थान दिएन ।
चाखलाग्दो कुरा यो छ कि अगाडिको पेजमा दुई थान समाचार र त्यसका बाँकी टुक्रापछि पेज ६ मा राख्न बाहेक केही नगरेको नेपाली सरकारी अखबार दि राइजिङ नेपालभन्दा धेरै व्यापक कभरेज कतारी अंग्रेजी भाषाको अखबार गल्फ टाइम्सले गरेको छ । गल्फ टाइम्सले प्रथम पेजबाहेक अरु तीन पूरा पेजहरूमा आमिरको नेपालको भ्रमणलाई प्राथामिकताका साथ प्रकाशन गरेको छ । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालदेखि नेपालका लागि कतारी राजदूत मिसल महोमद अल अन्सारीको कुरा गल्फ टाइम्सले प्राथामिकताकासाथ प्रकाशन गरेको छ । नेपालमा कतारी लगानी र दुई देशको आर्थिक सहकार्यका पाटो गल्फ टाइम्सले ठूलो स्थान दिएर प्रकाशन गरेको छ । दुई देशका सरकारीमात्रै नभएर व्यवसायिक क्षेत्रमा भएका भ्रमण आदानप्रदानदेखि विभिन्न साझा मुद्दा गल्फ टाइम्सले प्राथामिकतासाथ प्रकाशन गरेको छ ।

विज्ञ भन्छन्ः नेपालको मिडिया कुटनीतिक कमजोर भयो

नेपालले कतारी राजाको नेपाल भ्रमणको सवालमा बलियो मिडिया कुटनीतिक कदम चाल्न नसकेको मिडिया क्षेत्रका जानकारहरू बताउँछन् । निजीभन्दा बढी सरकारी कुरा राख्न सक्ने सरकारी स्वामित्वका अंग्रेजी भाषाका मिडियाले त्यसो गर्न चुकेको उनीहरूले संकेत गरेका छन् । काठमाडौंको सेन्ट जेभियर्स कलेजमा पत्रकारिता विभाग नेतृत्व गर्ने चुन गुरुङ उच्चस्तरीय भ्रमणले अन्तर्राष्ट्रिय समुदायसँगको सम्पर्क बढ्दै नेपाल विश्व मानचित्रमा देखिने कुरामा वृछि हुने भन्दै मिडिया कुटनीतिमा स्वतः जोडिने बताउँछन् ।

चुन गुरुङ ।

उनी भन्छन्, ‘पत्याउनु होस् वा नपत्याउनु होस्, डिजिटल युगमा मिडियाले कुटनीतिज्ञको काम गर्छ । नेपाल र कतारको दूरी घटाउँछ ।’

नेपाली सञ्चारमाध्यम खासगरी अंग्रेजी भाषामा प्रकाशन हुने सरकारी स्वामित्वको अखबारको कभरेजले नेपालको मिडिया कुटनीति र रणनीतिक सञ्चार कमजोर देखिएको गुरुङ बताउँछन् । भन्छन्, ‘हामीले एक मौका गुमायौँ ।’

मिडिया क्षेत्रमा काम गर्ने संस्था सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालमा अध्यक्ष हुने प्रथम महिला तथा हाल काठमाडौंको दिव्यभूमि मल्टिपल कलेजमा पत्रकारिता विभागकी प्रमुख तृष्णा आचार्य पनि गुरुङको कुरामा सहमत छिन् । नेपाली मिडियाहरूले खासगरी सरकारी मिडियाले कतारका नेपालीहरूको हित, कतारमा जेलमा परेका नेपालीको उद्धार र नेपालमा कतारी लगानीको बाटो प्रशस्त गर्ने खालका मुद्दा उभ्याउन सक्नुपर्ने बताउँछिन् ।

तृष्णा आचार्य ।

अहिलेको सार्वजनिक कुटनीतिको प्रमुख आधार मिडिया भएको भन्दै आचार्य भन्छिन्, ‘कतारसँगको हाम्रो सम्बन्ध रोटीसँगको सम्बन्ध हो । धेरै नेपाली ज्यालादारी मजदुरको रूपमा जानु भएको छ । कतारमा काम गरिरहेका मजदुर नेपालीहरूको लागि पनि एक घटना भयो । कतार विकासमा नेपालको जुन योगदान छ । नेपालमा रेमिटेन्सले कसरी योगदान गरेको छ भनेर मिडियाले देखाउन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर