लगानी प्रवर्द्धननार्थ भएको कानूनी सुधार स्वागतयोग्य छ : उद्योग वाणिज्य महासंघ – Nepal Press

लगानी प्रवर्द्धननार्थ भएको कानूनी सुधार स्वागतयोग्य छ : उद्योग वाणिज्य महासंघ

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नका लागि सरकारले अध्यादेशमार्फत गरेको ऐन संशोधनलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

यही वैशाख १६ र १७ गते हुने लगानी गरेको सम्मेलनलाई लक्षित गर्दै सरकारले अध्यादेश मार्फत गरेको संशोधनलाई नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै स्वागतयोग्य रहेको उल्लेख गरेको हो ।

सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७६ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो ।

ग्राहस्थ उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गर्न सकिने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्याङ्कन, हदबन्दी लगायतका विषयलाई सम्बोधन गरेको महासंघले जनाएको छ ।

महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने विषय पनि यस पटकको केहि नेपाल ऐन संशोधनमा परेकोमा महासंघले उत्साह व्यक्त गरेको छ ।

यसअघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन सकिएको थिएन । अध्यादेशबाट पारित कानूनी व्यवस्थालाई संसद्ले पनि अनुमोदन गर्ने महासंघले विश्वास व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर