इलाम २ मा उपचुनाव: एमालेलाई मुढाले अभर र कांग्रेसलाई घन्टीकाे डर – Nepal Press

इलाम २ मा उपचुनाव: एमालेलाई मुढाले अभर र कांग्रेसलाई घन्टीकाे डर

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्ने समयावधि सकिन लाग्दा नेकपा एमाले र नेपाली कांग्रेस आआफ्नो मत जोगाउने ध्याउन्नमा छन् । अघिल्लो निर्वाचनमा आएको मत कसरी जोगाउने भन्नेमा एमाले र कांग्रेसको ध्यान केन्द्रित छ ।

२०७९ सालको निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा नेम्बाङकै कान्छा छोरा सुहाङ एमालेका तर्फबाट चुनावी मैदानमा छन् । यसअघि नेपाली कांग्र्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले यस पटक एमालेका उम्मेदवारलाई समर्थन गरेको छ ।

उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र परिवार दलको समेत समर्थन भएको हुँदा आफ्नो मत जोगाउन सके जीत पक्का हुने आशामा एमाले देखिन्छ । तर, कोशी नामकरणपछि प्रदेशमा सुरु भएको पहिचानको आन्दोलन टाउको दुःखाइको विषय बनेको छ । एमालेकै नेता तथा कार्यकर्ताहरू पहिचानको आन्दोलनमा लागेका हुनाले कसरी मत जोगाउने भन्ने ध्याउन्नमा एमाले छ ।

कांग्रेसलाई भने यो चुनाव एक्लै लड्नु परेको कारण आफ्नो मत जोगाउनुका साथै थप कसरी गर्ने भन्ने सकस परेको देखिन्छ । त्यसमाथि टिकट वितरणका बेला देखिएको पार्टीभित्रको आन्तरिक झगडा चुनाव आउन ३ दिन बाँकी हुँदासमेत सबैतिर मिलिनसकेको कांग्रेसको विश्लेषण छ । टिकटका आकांक्षी भेषराज आचार्य उम्मेदवार खड्कासँगै मत माग्न हिँडिरहेका छन् । तर, मतदाता अझै विश्वस्त हुनसकेका छैनन् ।

आफ्नो मत राष्ट्रिय स्वतन्त्र पार्टीमा जान सक्ने डर कांग्रेस नेताहरुको देखिएको छ । यो रोक्न पार्टी लागिपरेको कांग्रेस इलामका एक नेताले बताए ।

गएको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ एमालेले २६ हजार ५६२ र कांग्रेसले २२ हजार ३३३ मत पाएका थिए । माओवादीले भने ५ हजार १५३ मत ल्याएको थियो ।

‘हामी यो पटक एमाले र माओवादीलाई आएको मत रक्षा गर्न लागेका छौं । हामीले आफ्नो मत रक्षा गर्‍यौं भने चुनाव जित्छौं’, एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले भने ।

कांग्रेस पनि एमालेको मत पहिचान पक्षधरले काट्ने हुँदा आफ्नो मत रक्षा गर्न सके चुनाव जितिने रणनीतिमा छ । कांग्रेस प्रदेश सभापति उद्धव थापाले आफ्नो मतको रक्षा गर्नु नै कांग्रेसको पहिलो रणनीति भएको बताए ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये दलका १२ र अरू स्वतन्त्र उम्मेदवार छन् । चुनाव प्रचारप्रसारमा लागे पनि प्रतिस्पर्धा भने एमाले कांग्रेसका बीच हुने देखिएको छ ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचान पक्षधरका साझा भनिएका उम्मेदवार डकेन्द्रसिंह थेगिम प्रतिस्पर्धामा आउने आँकलन गरिएको छ ।

कांग्रेसलाई रास्वपाको डर

इलाम क्षेत्र नम्बर २ को देउमाई नगरपालिका चौबन्दी चोकमा भेटिए गजुरमान परियार । उनका २ छोरा परिवारसहित झापाको दमकमा बस्छन् । एउटाको टेलरिङ व्यवसाय छ भने अर्का अटो कुदाउँछन् ।

उनले कुराकानीका क्रममा आफू कांग्रेसको मतदाता रहेको बताए । उनले आफ्नो क्षेत्रमा पानीको समस्या भएको भन्दै समस्या समाधानमा नेताहरुले ध्यान नदिएको गुनासो गरे ।

उनले कांग्रेस विभाजित भएकोसमेत बताए । उनले भने, ‘चुनाव त कांग्रेसले जित्ने हो । तर, हराउँछ कांग्रेसले नै ।’

चौबन्दी चोकबाट नवमी बजारमा पुग्दा भेटिइन्, शोभा दाहाल । आफ्नो पसल अगाडि बसेकी ६५ वर्षीय दाहालसँग चुनावी कुरा गर्दा सुरुमा उनी खुल्न चाहिनन् । झापाको सुरुंगामा पनि घर भएको बताउने दाहालले कुराकानीका क्रममा खुल्दै आफू कांग्रेसको मतदाता भएको बताइन् ।

‘हामीले भोट रुखमा हाल्ने हो । तर, यहाँ कांग्रेस २ वटा भएको छ बाबु । आचार्य बाबु (भेषराज आचार्य जो टिकटका आकांक्षी थिए)ले टिकट पाएको भए जित्थे’, उनले भनिन्, ‘तर, अहिले भन्न गाह्रो छ । कांग्रेसभित्रको द्वन्द्वमा निर्भर हुन्छ ।’

इलामको देउमाई नगरपालिका पञ्चमी बजारमा भेटिएका कांग्रेसका २०४२ सालदेखिका क्रियाशील सदस्यले पनि इलाम कांग्रेसमा अन्तरविरोध भएको बताए ।

‘अहिलेसम्म मिलिसकेको छैन । मिलेन भने भोट घण्टीमा जाने हो’, उनले भने, ‘कांग्रेसीहरुले एमालेलाई भोट हाल्दैनन् । कांग्रेसलाई मत जोगाउन हम्मेहम्मे परेको छ । रिसको झ्वाँकमा जाने भोट घण्टीमा हो ।’

इलामको दक्षिणी गाउँपालिका चुलाचुलीमा हामी पुग्दा कांग्रेसभित्रको अन्तरविरोध धेरै थियो । यही अन्तरविरोधलाई कम गर्न कांग्रेसले अन्तिम सभा चुलाचुलीमा गरेको छ । हिजो भएको चुनावी सभामा कांग्रेसका फरक विचार समूहका नेता डा. शेखर कोइरालालाई वक्ताको रूपमा लगिएको थियो ।

हामीले कुराकानी गरेका कांग्रेस कार्यकर्ताहरू पार्टीसँग सन्तुष्ट छैनन् । गम्भीरमान राई शहीद परिवारका सदस्य हुन् । उनका बुवा हर्क राई शहीद हुन् । हर्कको २०२० सालमा हत्या गरिएको थियो ।

बुवाको हत्यापछि पाँचथरको फिदिमबाट उनीहरू विस्थापित भए । विस्थापित भएर दार्जिलिङ हुँदै चुलाचुलीमा बसोबास गर्ने गम्भीरमान राईले कांग्रेसभित्रको अन्तरविरोधले उपनिर्वाचनमा ठूलो असर गर्ने बताए ।

ख्रिष्टियन धर्म मान्ने राईले आपझोलाको मत कांग्रेसलाई नजाने बताए । उनको प्रश्न थियो, ‘कांग्रेसले न धर्मको विषयमा कुरा राख्न सक्यो न त आफ्ना कार्यकर्ताको संरक्षण गर्न सक्यो ।’

एमालेकाे चुनाैती पहिचानवादी

पहिचान पक्षधरका साझा भनिएका उम्मेदवार डकेन्द्रसिंह थेगिम पहिले एमालेका कार्यकर्ता हुन् । उनीसँगै किराँत धर्ममा प्रभाव राख्ने मांगेमा सेवा समितिका अध्यक्ष केयोरसिंह योङहाङसमेत एमालेका कार्यकर्ता थिए ।

उनीहरूको प्रभावका कारण किराँत धर्म मान्नेहरूको मत एमालेलाई जाने गरेको दाबी गरिँदै आएको छ । सुवासा नेम्बाङले सो क्षेत्रबाट लगातार निर्वाचन जित्नुमा आफूहरूको हात रहेको उपनिर्वाचनका उम्मेदवार डकेन्द्रले पटक पटक नेपाल प्रेससँगको कुराकानीमा बताएका थिए ।

अहिले उनी आफै चुनावी मैदानमा छन् । त्यसैले एमालेको हिजोको मत कट्ने अनुमान गरिएको छ । हुन त २०७९ सालको निर्वाचनमा पनि किराँत धर्मगुरु आत्मानन्द लिङदेन (लारुम्वा फ्याक्टर) को प्रभाव क्षेत्रबाट नेम्बाङलाई कम मत गएको देखिन्छ । सो धार्मिक समुदायको मत डम्बरको पक्षमा गएको विश्लेषण गरिँदै आएको छ ।

एमालेका नेता तथा कार्यकर्ताहरू सो समुदायको मत डम्बरलाई नजाँदा एमालेलाई फाइदै हुने बताउँछन् । किराँत धर्म गुरु लिङदेनको लारुम्बामा रहेको कुटी अगाडि किराना पसल सञ्चालन गर्दै आएका स्थानीयले यस पटकको निर्वाचनमा लारुम्वा फ्याक्टर पहिलाको जस्तो नभएको सुनाउँछन् ।

‘अहिलेसम्म गुरुले यसै भनेर केही भन्नुभएको छैन । तर, गुरुले भने पनि मत क्रस हुने अवस्था छ’, एक स्थानीयले भने, ‘यसअघि निर्वाचनको केही दिन अगाडि गुरुको सन्देश हुन्थ्यो । यस पटक भएको छैन । सन्देश भए पनि मत बाँडिने सम्भावना छ ।’

लारुम्बा फ्याक्टरसँग ५ हजार बढी मत रहेको अनुमान गरिन्छ । यो मत चुलाचुलीदेखि फाकफोकथुमसम्म रहेको मानिन्छ ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुवास नेम्बाङका छोरा सुहाङले टिकट पाउने पक्का भएसँगै एमालेमा केही अन्तरविरोध देखिएको थियो ।

वंशीय परम्पराका कारण टिकट वितरण भएको भन्दै केही असन्तुष्ट थिए । तर, निर्वाचनको मिति नजिकिएसँगै यो असन्तुष्टि कम भएको एमाले नेता कार्यकर्ताहरुको दाबी छ ।

टिकटका आकांक्षीसमेत सुहाङको पक्षमा मत माग्न र पार्टी परिचालनमा सक्रिय हुँदा एमालेले एक ढिक्का भएको सन्देश मतदातासमक्ष पु¥याएको छ । निर्वाचन क्षेत्रमा डुल्दा भेटिएका एमाले नेता तथा कार्यकर्ताले २०७९ सालको निर्वाचनमा भन्दा एमाले एक ढिक्का भएको सुनाएका छन् ।

स्थानीय तहको निर्वाचनका बेला टिकट वितरणमा देखिएको समस्याका कारण एमालेमा ठूलो अन्तरविरोध थियो, जसका कारण कतिपय नेताहरू निर्वाचनमा सघाउनसमेत हिँडेनन् । इलाम एमालेका उपसचिव तथा टिकटका आकांक्षी रवीन्द्र सुवेदीले भने, ‘अहिले सबै अन्तरविरोध मिलेको छ । हामी एक भएर चुनावमा उम्मेदवार जिताउन लागेका छौं ।’

२०७९ सालको निर्वाचनमा टिकट नपाएकाहरू असन्तुष्ट थिए । अहिले ती सबै असन्तुष्टि हटाएर पार्टी काममा फर्किएका छन् । इलामको चुलाचुलीमा भेटिएका एमालेका कार्यकर्ता गोपाल राईले पार्टीमा अहिले समस्या नभएको सुनाए ।

उनले पार्टीभित्रको अन्तरविरोध भन्दा पनि शुभेच्छुकहरूको मत भने पहिचान पक्षधरका उम्मेदवारतर्फ जानसक्ने बताए । ‘केही प्रतिशत मत मुढामा जान्छ’, उनले भने, ‘हामी सबै लाग्दा पनि रोक्नसक्ने अवस्था छैन ।’

‘घन्टी’को बलियो प्रचार, आधार कमजोर

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ का उम्मेदवार मिलन लिम्बूको प्रचार शैली गजबको छ । सामाजिक सञ्जालमा मात्रै होइन, घरदैलोमा पनि मतदाता प्रभावलाई पार्ने उनको शैली गजबको छ ।

उनी स्थानीय भाषामा मतदातासँग कुरा गर्न सक्छन् । मतदातासँग चाँडै घुलमिल हुने र कुरा गर्ने मिलनको स्थानीय जनआधार भने कमजोर देखिन्छ ।

यहाँ रास्वपाको सङ्गठन बलियो छैन । तल्लो तहसम्म सङ्गठन नहुँदा सूचनासमेत पार्टीसम्म आउन गाह्रो देखिन्छ । सामाजिक सञ्जालमा उनको पक्षमा माहोल देखिए पनि ग्रामीण क्षेत्रमा उनको प्रभाव कमजोर देखिन्छ ।

इलाम बजार र मङ्गलबारे बजार क्षेत्रमा भने उनको प्रभाव देखिन्छ । उनकै जन्मस्थल इभाङमा प्रहरी चौकी अगाडि भेटिएका स्थानीय मतदाता एमाले-कांग्रेस पक्षधरका बढी थिए ।

एक छैन लारुम्बा, डकेन्द्र समस्यामा

किराँत धर्म गुरुको प्रभाव रहेको लारुम्बाको मत यस पटक विभाजन हुने देखिन्छ । किराँत धर्मगुरुका विश्वास पात्र भनिएका किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । तर, माङ्गेमा सेवा समितिका अध्यक्ष केयोरसिंह योङहाङ भने खुलेर डकेन्द्रको चुनावी प्रचारमा हिँडेका छैनन् ।

उनी माङ्सेवुङमा पहिचान पक्षधरले आयोजना गरेको चुनावीसभामा भने देखिएका थिए । योङहाङ किराँत धर्ममा आत्मानन्द लिङदेनपछि प्रभाव पार्ने व्यक्ति योङहाङ हुन् । उनी रास्वपा उम्मेदवार मिलन लिम्बूको पक्षमा लागेको आरोप लाग्ने गरेको छ । योङहाङ भएका कारण त्यस्तो देखिएको हो ।

पहिचान पक्षधर उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी एक नेताले भने, ‘भित्री मनले उहाँले सघाउनु भएको छैन । गुरुले भनेपछि बिगार्नु पनि हुन्न भन्ने लागेको छ ।’

पहिचान पक्षधरसँग पहिचानको मुद्दाबाहेक अरु खास नभएका कारण अन्य मतदातामाझ उनीहरू पुग्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर