खेलकुदमन्त्री श्रेष्ठ भन्छन्- सुधारका लागि मार्गदर्शन मिलेको छ, तर नखाएको विष लाग्नुभएन – Nepal Press

खेलकुदमन्त्री श्रेष्ठ भन्छन्- सुधारका लागि मार्गदर्शन मिलेको छ, तर नखाएको विष लाग्नुभएन

वेष्ट इन्डिजका खेलाडीलाई ‘अगतिलो’ स्वागतबारे खेलकुद मन्त्रालयले गर्‍यो क्यानसँग सोधपुछ

काठमाडौं । पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज टीमलाई ‘अगतिलो स्वागत’ गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) को आलोचनामा सामाजिक सञ्जाल रंगिएको छ । कतिपयले खेलकुद मन्त्री विराजभक्त श्रेष्ठमाथि समेत प्रश्न उठाएका छन् ।

क्यानले खेलाडीलाई विमानस्थलबाट होटलमा पुर्याउनका लागि एउटा पर्यटक बस पठाएको थियो भने लगेजहरु हाल्न बलेरो भ्यान पठाइएको थियो । यी दुवै गाडी भाडाका हुन् । ‘कुखरा बोक्ने गाडी’ विदेशी खेलाडीको लगेज ओसार्न पठाइएको टिप्पणी सामाजिक सञ्जालमा भाइरहेको छ । साथै पहिलोपटक उपल्लो स्तरको विदेशी टीम नेपाल आउँदा क्यानका उच्च पदस्थहरु विमानस्थलमा स्वागत गर्न नगएकोमा पनि क्रिकेट समर्थक खिन्न देखिएका छन् ।

त्यसो त यसअघि अन्य विदेशी टीमहरु नेपाल आउँदा पनि यसैगरि नै ओसार्ने गरिएको थियो । क्यानसँग आफ्नो एउटा बस छ, जुन भारतीय दूतावासले दान दिएको हो । यो बस पनि मापदण्ड नपुग्ने हुनाले क्यानले विदेशी टीम ओसार्न पर्यटक बस भाडामा लिने गरेको छ । अब भने आफ्नै बजेटबाट एउटा गतिलो बस किन्ने तयारी रहेको क्यान स्रोत बताउँछ ।

क्यानका सचिव पारस खड्का भने अहिले देशबाहिर छन् । उनी केही दिनअगाडि अमेरिका गएका थिए । भ्रमणको प्रयोजन सार्वजनिक गरिएको छैन । अहिले क्यानमा पारसको बलियो नियन्त्रण छ । सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि खेलकुद मन्त्रालयबाट क्यानमा फोन सम्पर्क गरी यस विषयमा सोधपुछ गरिएको थियो ।

खेलकुद मन्त्री श्रेष्ठको सचिवालयसँगको कुराकानीमा क्यानका पदाधिकारीले आफूहरुले परम्परागत तवरबाटै स्वागत गरेको प्रष्टीकरण दिएका थिए । उनीहरुले क्यानको स्रोत साधनको सिमितताबारे पनि अवगत गराएका छन् ।

मन्त्री श्रेष्ठले स्वयम्ले सामाजिक सञ्जालको प्रतिक्रियालाई गम्भीरतापूर्वक लिइरहेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफूमाथि उठेका प्रश्नरुलाई पनि अन्यथा नलिने बताए । यद्यपि, एउटा खेल संघसँग सम्वन्धित दैनन्दिन कुराहरुमा आफ्नो संलग्नता नरहने र आजको विषय पनि समाचारमा आएपछि मात्रै थाहा भएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठ भन्छन्, ‘खेलकुद संघहरु २ सय चानचुन छन् । सबैको नियामक निकाय भनेको राष्ट्रिय खेलकुद परिषद हो । यस्ता विषयहरु आइसकेपछि के भएको हो भनेर हामीले चासो र चिन्ता लिने कुरा आफ्नो ठाउमा छ । तर, तपाईंलाई पनि नखाएको विष त लाग्नु भएन ।’

खेलकुद ऐन संसोधन हुँदा यस्ता कुराहरुलाई सम्वोधन गरिने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।

‘यस्ता कुराहरुमा प्रतिक्रियात्मक भन्दा पनि रचनात्मक भएर सुधारतर्फ लैजानुपर्छ । कसरी यस्ता कुराहरुलाई व्यवस्थित गर्ने भन्नेमा म स्वयम्को पनि पक्कै ध्यानकर्षण भएको छ’, मन्त्री श्रेष्ठले थपे ।

आफूले सचिवालयमार्फत क्यानसँग आजको घटनाबारे कुराकानी गरेको पनि उनले जानकार दिए ।

‘हाम्रो सचिवालयबाट कुरा हुँदा खेरी खेलाडीहरुलाई लिन बस पठाएको तर सामानहरु नअट्ने भएकाले अर्को गाडी पठाएको भन्ने जवाफ आएको छ । यस्ता चिजलाई सम्बन्धित संघहरुले नै आफ्नो विधानमा सुधार्नुपर्छ भन्ने पक्षमा छु । हामीलाई पनि पाठ भएको छ । आगामी दिनमा आवश्यक पहलकदमी अवश्य हुन्छ’, उनले भने ।

खेलाडीहरुले पनि सम्मान पाउनुपर्छ भनेर समाजले महसुस गर्नु पनि सकारात्मक पक्ष भएको मन्त्री श्रेष्ठको भनाइ छ । यसरी ध्यानाकर्षण गराउनेहरुले धन्यवाद दिने उनले बताए । आफू सार्वजनिक खपतका लागि सम्वन्धित निकायलाई निर्देशन दिएर झारा टार्ने पक्षमा नरहेको श्रेष्ठ बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *