इलामबाट फेरि वाम तालमेलको प्रयोग- एक्लै बलियाे एमालेलाई माओवादीको खुलस्त सहयोग – Nepal Press

इलामबाट फेरि वाम तालमेलको प्रयोग- एक्लै बलियाे एमालेलाई माओवादीको खुलस्त सहयोग

विराटनगर । ‘सुदूरपूर्वबाट पुन: वाम एकताको सन्देश दिन पर्छ । यो सन्देश दिने मौका फेरि आएको छ । यो मौका वैशाख १५ को उपनिर्वाचन हो’, चुलाचुलीको अन्तिम चुनावी भाषणमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको भाषणको अंश हो यो । उनले थपेका थिए, ‘तपाईँहरूले तलबाट सन्देश दिनुभयो भने हामी माथि अरू कुरा मिलाउँछौ ।’

गजुरेलको भनाइ थियो, ‘हिजोका दिनमा भएका गल्ती कमजोरीको समीक्षा हामी काठमाडौंमा गर्छौं । कमजोरीहरू सच्याएर अगाडि बढ्छौं । तलबाट तपाँइहरूले एकताको सन्देश दिन जरुरी छ । यसका लागि सुहाङ नेम्वाङलाई जिताएर पठाउनु पर्छ ।’

माओवादी कोशीका इन्चार्जसमेत रहेको गजुरेलले भने जसरी बाम एकता र विगतको एकताताका भएगरेका कमजोरीको समीक्षा गर्दै कम्युनिस्टहरू एक हुन्छन् कि हुँदैनन् त्यो त आउने दिनले नै देखाउला । तर, सुदूरपूर्वका मतदाताले भने कम्युनिस्ट एकताको सन्देश ब्यालेट पेपरमार्फत दिएका छन् ।

चुलाचुलीको चुनावी सभामा माओवादी उपमहासचिव हरिबोल गजुरेल ।

वैशाख १५ मा सम्पन्न उपचुनावमा एमालेका सुहाङलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन जनाएको थियो । आज झिसमिसे उज्यालोको परिणामसँगै सुहाङले फराकिलो मतान्तरले सिंहदरबार यात्रा तय गरिसेका छन् ।

सुहाङ बाम एकताको चाँजोपाँजो मिलाइ हाल्न सक्ने हैसियतमा त पुगेका छैनन् तर उनको जितले कम्युनिष्ट पार्टीहरूलाई दबाब भने सृजना भएको छ ।

७९ को निर्वाचनमा एमालेका हाई प्रोफाइल नेता सुवासचन्द्र नेम्वाङ झिनो मतले विजयी भएका थिए । उनी जम्मा १४४ मतको अन्तरले मात्रै विजयी भए । उनका छोरा सुहाङ ५८३० बढी भोट ल्याएर विजेता बने । बुवा र छोरा दुवैका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्का थिए । गत वर्ष माओवादी केन्द्र र नेकपा एस कांग्रेसँगको गठबन्धनमा थिए ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल इलाममा भएको उपचुनावले वाम एकताका लागि वातावरण बनाउन मार्ग प्रशस्त गरेको बताउँछन् ।

‘७९ को चुनावमा एमाले एक्लै मैदानमा थियो । एमाले एक्लै लड्दा र वामपन्थीहरूको गठबन्धन हुँदा नतिजा फरक आएको छ । यो स्पष्टरूपमा तलका कार्यकर्ता, शुभेच्छुकले दिएको एकताको सन्देश हो ।

वैशाख १२ गते चुलाचुलीको सभामा ओलीले पनि इलामको चुनाव बाम एकताको सन्देशको रूपमा रहेको बताएका थिए । उनले नेकपा नेतृत्वको सरकारमा आफू हुँदा सुरू गरेका विकासका कामको फेहरिस्त सुनाएका थिए । ती कामहरू रोकिएको भन्दै पूर्णता दिन पनि वामपन्थीहरूको सरकार बन्नु पर्ने बताएका थिए ।

मंगलवार इलामको बिजय सभामा उनले माओवादीलगायत दलहरुलाई धन्यवाद भन्दै आगामी निर्वाचनहरुमा पनि आवश्यकता अनुसार तालमेल गरिने भन्दै आश्वस्त तुल्याए । एमाले एक्लै गठबन्धनसँग लडेका बेला पनि जितेको स्मरण गर्दै ओलीले वाम तालमेलको लागि यसले वातावरण बनाउन सक्ने संकेत गरे ।

२०७४ मा दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेका थिए । सो निर्वाचनमा बाम गठबन्धनको दुईतिहाइ बहुमत आएको थियो । पछि २०७५ साल जेठ ३ गते एकता हुँदै नेपाल कम्युनिस्ट पार्टी बन्यो । नेकपा बनेको ४१ महिनापछि अदालतको आदेशले दुई पार्टीलाई अलग गर्‍यो ।

नेकपाको ४१ महिना विवाद र आन्तरिक शक्ति संघर्षमा बित्यो । तर, माओवादी नेता गजुरेलले भनेजस्तै समीक्षा गरेर अगाडि बढ्ने सन्देश भने निर्वाचनबाट आएको राजनीतिशास्त्री पोखरेलको भनाइ छ । वाम एकताका लागि तल्लो तहका नेताहरूले अब बोल्नु पर्ने बेला आएको उनको सुझाव छ ।

‘अहिले नै हतारमा एकता गर्नु बुद्धिमत्ता हुँदैन । सहकार्य गर्दै वाम एकताका लागि वातावरण बनाउनुपर्छ । यो उपचुनाव वाम एकताको आधार हुन सक्छ । माथि निश्चित स्वार्थका लागि नेताहरू मिलिरहेका छैनन् । जनताको स्वार्थका लागि प्रदेशमा रहेका नेताहरूले एकताको दबाब दिन सक्नुपर्छ’, उनी भन्छन् ।

आम मतदाता स्थिर र दिगो सरकारको पक्षमा रहेको भन्दै पोखरेलले स्थिर सरकार नभएसम्म विकासका ढोका नखुल्न बताए ।

आरोप प्रत्यारोपको त्यो गठबन्धन

वाम गठबन्धनबाट छुट्टिएपछि माओवादी केन्द्र नेपाली कांग्रेसको क्याम्पमा पुग्यो । सत्तासँगसँगै चुनावमा प्रचण्डले कांग्रेससँग घाँटी जोडे । विपरीत ध्रुवका यी दुई दलमा एकले अर्कालाई भोट हाल्नुपर्दा मतदाता र कार्यकर्ताको असन्तुष्टि बग्रेल्ती थियो ।

७९ मा स्थानीयदेखि प्रतिनिधिसभाको चुनावमा माओवादीका धेरैजसो उम्मेदवार हारे । गत माघ ११ गते राष्ट्रियसभाको निर्वाचनसम्म आइपुग्दा त माओवादीलाई कांग्रेसले दिँदै आएको धोका पुष्टि भयो ।

माओवादी केन्द्रबाट कोशी प्रदेशबाट उम्मेदवार बनेकी चम्पादेवी कार्की पराजित भइन् । मतभार कम हुँदा हुँदै पनि एमालेकी रुक्मिणी कोइरालाले बाजी मारिन् । जबकि उही मतदाता र मतभार हुँदा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी बने ।

इलाम पुगेका ओली सुहाङलाई अँगालो हाल्दै ।

इलामको परिणामपछि माओवादी केन्द्रका नेता इन्द्र आङ्वोले एमाले-माओवादी समझदारी र पार्टीको निर्णय पूर्ण प्रतिवद्धताका साथ कार्यान्वयन भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमानका साथ कार्यान्वयन गर्ने इलाम माओवादी पार्टीका सबै नेताकार्यकर्ताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

एमाले इलामका पूर्वअध्यक्ष तथा वैकल्पिक केन्द्रीय सदस्य राम रानाले इलाममा गठबन्धन पूर्णरूपमा कार्यान्वयनमा गएको बताए ।

एमाले माओवादीबीच गठबन्धन हुँदा यहाँ सुहाङलाई माओवादीले भोट नहाल्ने आँकलन भइरहेको थियो । ७९ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ एमालेले २६ हजार ५६२ मत पाएको थियो । माओवादी केन्द्रको ५ हजार १५३ मत थियो ।

माओवादीको पूरै मत एमालेलाई नआउने निश्चित नै थियो । कट्टर पहिचानवादी छबि बनाएका कार्यकर्ता र समर्थक माओवादीको मत मुढामा गएको देखिन्छ । तर जिल्लास्तरका नेताहरु भने इमानदारपूर्वक एमालेलाई मत खसाउन लागिपरेका थिए । बझाङमा जस्तै सबै दलहरु एक्ला एक्लै लडेका भए पनि इलाममा एमालेले जित्ने मत थियो । तर माओवादीको मत थपिदा मतान्तर फराकिलो बन्यो ।

पहिचानवादीको जबरजस्त उपस्थिति

पहिचानवादीहरूले साझा उम्मेदवारको रूपमा डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने घोषणा गरेपछि थेगिमले नेपाल प्रेससँग भनेका थिए ‘उहाँहरूले लड् भन्नु भयो लड्ने निर्णय गरेँ ।’

सामाजिक आन्दोलनबाट पहिचानको मुद्दा बोक्न थालेका थेगिमलाई त्यही बेला चुनावै जितिहालिन्छ भन्ने लागेको थिएन ।

‘हामीसँग सङ्गठन छैन । ऊर्जामात्रै छ, ऊर्जामात्रैले चुनाव जित्न नसके पनि मुद्दा स्थापित गर्नका लागि भए पनि उम्मेदवार बन्नुको विकल्प रहेन’ थेगिमले भनेका थिए ।

तर मत परिणामले आफूले उठाएको मुद्दा स्थापित गरेको उनको जिकिर छ । उनले ११ हजार ४५७ भोट ल्याएका छन् ।

उनले भने, ‘हामीले चुनाव जितेनौं तर मुद्दालाई देशैभर स्थापित गरेका छौं ।’

तर एमालेलाई पहिचानविरोधी करार गरेर एक वर्षदेखि थालेको पहिचानवादी आन्दोलनलाई चुनावी मैदानमा भने एमालेले नै पराजित गरेर जनताको अनुमोदन पाएको छ ।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनीतिक शास्त्र विभागका प्रमुख शकुल श्रेष्ठ पनि थेगिमको तर्कमा सहमत छन् । उनले पहिचान पक्षधरले निर्वाचन नजिते पनि मुद्दाले जितेको दाबी गरे । श्रेष्ठले भने, ‘पहिचानको मुद्दा जबरजस्त स्थापित भएको छ कुनै न कुनै दिन यसलाई सम्बोधन गर्नुपर्छ ।’


प्रतिक्रिया

One thought on “इलामबाट फेरि वाम तालमेलको प्रयोग- एक्लै बलियाे एमालेलाई माओवादीको खुलस्त सहयोग

  1. २०७४ को आमनिर्वाचनको जनादेशपछि केपी ओलीको ख्यातीमा आफ्नो प्रगति नदेख्ने माझण्डहरूको चक्षुका कारणले नेकपा हुँदै नेकपा एमालेमा विभाजन भएको थियो। माझण्डहरू दक्षिणपन्थीहरुको गोटी बनेका थिए। त्य इतिहास भएर इलामको उपनिर्वाचनले नयाँ सन्देश दिएको छ। चेतना भया!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर