सरकारी प्राडोमा रातो नम्बर प्लेट- कांग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार – Nepal Press

सरकारी प्राडोमा रातो नम्बर प्लेट- कांग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू चढ्ने प्राडो गाडीमा निजी नम्बर प्लेट हालेर प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई चढ्न दिएका छन् । सांसद शाहीले प्रदेश सभामा समेत सोही गाडी प्रयोग गर्दै आएपछि मुख्यमन्त्री शाहीले गाडीको नम्बर प्लेट बदलेको खुलेको हो ।

मुख्यमन्त्री शाही विगतमा शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारमा उर्जामन्त्री बनेका थिए । त्यसबेला उनले विद्युत प्राधिकरणको बा २ झ ५७९३ नम्बरको गाडी प्रयोग गरेका थिए । कर्णाली प्रदेशमा उनी मुख्यमन्त्री भएपछि हालसम्म सोही गाडी प्रयोग गर्दै आइरहेका थिए । तर कर्णालीमा कांग्रेससँग सत्ता सहकार्य भइसकेपछि अहिले आएर सो गाडीको नम्बर प्लट नै बदलेर निजी गाडीको रुपमा कांग्रेस नेता जीवनबहादुर शाहीलाई दिएको पाइएको हो ।

मुख्यमन्त्री शाहीले उक्त गाडीमा रातो प्लेटमा बा २ च ५७९३ नम्बर लेख्न लगाएका छन् ।

‘उहाँले कांग्रेस संसदीय दलका नेता शाहीलाई हिँड्न समस्या भएका कारण उक्त गाडीमा नम्बर फेर्न लगाउनु भएको हो,’ मुख्यमन्त्री कार्यालय स्रोत भन्छ, ‘अहिले केही दिनदेखि नेता शाहीले उक्त गाडी प्रयोग गर्दै आइरहनु भएको छ, तर गाडी राख्ने ठाउँ भने मुख्यमन्त्री निवासमै मिलाइएको छ ।’

सरकारी गाडीको नम्बर बदल्न नपाईने व्यवस्थाको मुख्यमन्त्री शाहीले खिल्ली उडाएको एमाले प्रमुख सचेतक गुलावजंग शाहले बताए ।

‘सरकार जसरी हुन्छ सरकारी सम्पत्तीकाे दोहन गर्न उद्यत छ,’ उनले भने, ‘सरकारी नम्बर प्लेट बदल्न त यो सरकारले बाँकी राखेन भने भन्नुस् अरु के बाँकी राखेको होला र ?’

यता, कांग्रेस नेता शाहीले कानूनीरुपमा पनि गाडी सुविधा प्रयोग गर्न पाउँदैनन् । यसबारेमा कुरा गर्न खोज्दा नेता शाहीसँग सम्पर्क हुन सकेन ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले यसबारेमा जवाफ दिन चाहेनन् ।


प्रतिक्रिया

One thought on “सरकारी प्राडोमा रातो नम्बर प्लेट- कांग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार

  1. कति रिस गर्या क्या पत्रकार मित्र ? कम्ता दुःख गरेर ल्याको लोकतन्त्र हो , एय ! हिजो राजाका छोराले चढ्दा हुने आज जनताका छोराले चढ्न नहुने ? म त सलाम गर्छु त्यस्ता महाननननननननन नेताहरुलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर