तीन संस्थापक नेता जसले उत्तरार्द्धमा कांग्रेससँग नाता तोडे
राणाकालमा भारतमा निर्वासित नेपाली युवाहरुले खोलेको नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा २००७ सालको क्रान्ति सफल भयो । सो क्रान्तिले १०४ वर्ष लामो जहानियाँ राणा शासन अन्त्य गरेको थियो ।
२००८ मंसिर १ गते गैरराणाको तर्फबाट सामान्य नागरिकको छोराको रुपमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनी कांग्रेस सभापतिकै हैसियतमा प्रधानमन्त्री भएका थिए ।
नेपालमा २००७ सालको क्रान्ति, २०४६ सालको पहिलो जनआन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलनको नेतृत्व पनि कांग्रेसले नै गरेको थियो ।
यस्तो नेपाली लोकतान्त्रिक इतिहासको एक नेतृत्वदायी शक्ति नेपाली कांग्रेसमा केही वरिष्ठ र त्यागी नेताहरु भने टिक्न सकेनन् । राजनीतिक जीवनको उत्तरार्द्धमा उनीहरुले नेपाली कांग्रेससँगको आवद्धता नै अन्त्य गरेका थिए । यहाँ नेपाली कांग्रेसको संस्थापक भएर पनि पछि नेपाली कांग्रेस त्याग गरेका तीन नेताको चर्चा गरिएको छ ।
१. मात्रिकाप्रसाद कोइराला
२००७ सालको क्रान्तिका नायक हुन् मात्रिकाप्रसाद कोइराला । उनको २००७ सालको क्रान्ति बारेमा ‘अ रोल इन द रिभोलुसन’ भन्ने आत्मवृत्तान्त नै छापिएको छ । वीपी कोइरालाको आत्मवृतान्त तयार गर्ने गणेशराज शर्माकै अगुवाइमा मात्रिकाप्रसाद कोइरालाको उक्त आत्मवृतान्त तयार भएको हो ।
वीपीहरुको अगुवाईमा २००३ सालमा खोलिएको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशमशेरको अगुवाइमा खोलिएको नेपाली प्रजातान्त्रिक कांग्रेस एकीकरण भएर २००६ चैत २७ गते बनेको नेपाली कांग्रेसका प्रथम सभापति हुन् मात्रिकाप्रसाद कोइराला । नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्षको हैसियतले उनी भागबाण्डमा नेपाली कांग्रेसको प्रथम सभापति भएका थिए ।
२००८ मंसिर १ गते बनेको कांग्रेसको पहिलो सरकारमा मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । वीपीसँगको गुटगत टकरावको कारण मात्रिकाप्रसाद कोइरालाको सरकार धेरै टिकेन । उनी प्रधानमन्त्री भएकै अवस्थामा २००९ साउन ११ गते नेपाली कांग्रेसको क्रियाशील सदस्यबाट तीन वर्षको लागी निष्कासन गरियो । त्यसको तीन दिनअगाडि नै सुवर्ण शमशेर, गणेशमान सिंहदेखि सूर्यप्रसाद उपाध्यायलगायतले राजीनामा दिएर मात्रिकालाई एक्लो पारिसकेका थिए ।
साउन ११ को कारवाहीमा तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालासँगै योजना विकास, खानी, वन र विद्युतमन्त्री महावीर शमशेर, उद्योग, वाणिज्य र रसदमन्त्री महेन्द्रविक्रम शाह र स्थानीय स्वायत्त शासनमन्त्री नारदमुनी थुलुङ समेत थिए । २००९ साउन ११ मा पार्टीको क्रियाशील सदस्यसमेत नभएका मात्रिकाप्रसाद कोइराला दुई महिना अगाडि मात्रै नेपाली कांग्रेसको सभापतिबाट बाहिरिएका थिए । २००९ जेठ १० देखि १३ सम्म जनकपुरमा भएका पाँचौ महाधिवेशनबाट वीपी सभापति भइसकेका थिए । मात्रिकाप्रसाद कोइरालाले २००९ साउन २६ गते राजीनामा दिए । राजीनामाको समाचार न्यूयोर्क टाइम्सले समेत बनाएको थियो ।
तीन वर्ष नेपाली कांग्रेस पार्टीको औसत सदस्यसमेत बन्न निषेध गरिएका मात्रिकाप्रसाद कोइरालाले २०१० वैशाख १९ गते नयाँ दल राष्ट्रिय प्रजा पार्टी खोले । त्यसको दुई महिना नपुग्दै २०१० असार २ गते उनी प्रधानमन्त्री नियुक्त भए । २०११ फागुन १९ गते उनलाई हटाएर महेन्द्रले शासन हातमा लिए ।
२०१२ माघ ९ देखि सुरु भएको छैटौं महाधिवेशनबाट सुवर्णशमशेर नेपाली कांग्रेसको सभापति भएर आए । उनी आएपछि मात्रिकाप्रसाद कोइरालाको पार्टी राष्ट्रिय प्रजा पार्टीसँग पुनः एकीकरण भयो । एकिकरणपछि २०१५ को चुनावको तयारी गर्न भन्दै विशेष महाधिवेशन आयोजना भयो । २०१४ जेठ ११ र १२ मा विराटनगरमा भएको महाधिवेशनमा वीपी सर्वसम्मत अध्यक्ष भए ।
२०१५ फागुन ७ मा चुनाव भयो । चुनावमा मात्रिकाप्रसाद कोइराला कतै उठेनन् । उनलाई वीपीले नै उठ्ने वातावरण नदिएको कतिपयको भनाइ छ । २०१६ जेठ १३ गते वीपी कोइरालाको नेतृत्वमा सरकार बन्यो । २०१७ पुस १ गते महेन्द्रले सत्ता आफ्नो हातमा लिए । संसद र सरकार भंग गरे । सबैजसो नेता-कार्यकर्तालाई पक्राउ गरे । महेन्द्रलाई समर्थन गर्ने शर्तमा मात्रिकाप्रसाद कोइराला छुटे ।
छुटेपछि उनलाई संयुक्त राष्ट्रसंघको लागि नेपालको दोश्रो स्थायी प्रतिनिधि बनाइयो । सँगै उनले अमेरिकाको लागि नेपाली राजदूतको रुपमा समेत काम गरे । २०१८ वैशाख ५ गते उनलाई नियुक्ति गरिएको थियो । त्यसको समाचारसमेत न्यूयोर्क टाइम्सले छापेको थियो । पछि राष्ट्रिय पञ्चायत चुनावका मनोनित सदस्यदेखि निर्वाचित सदस्य समेत भए मात्रिकाप्रसाद कोइराला ।
२. गणेशमान सिंह
नेपाली कांग्रेस तथा वीपी कोइरालाको भन्दा जेठो राजनीति हो गणेशमान सिंहको । १९९७ मा प्रजापरिषदको सदस्यता धर्मभक्त माथेमाबाट लिएका उनी पक्राउ परेका थिए । राणा सत्ताको जेल नाघेर उनी २००१ मा भागेर भारत पुगे । भारतका व्यापारी देवशंकर लालले उनको वीपीसँग भेट गराएका थिए । त्यही भेटपछि गणेशमान सिंह वीपी कोइरालाहरुसँग मिलेर नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक नेता भए ।
२०४६ सालको संयुक्त जनआन्दोलनका सर्वमान्य नेता तथा सर्वोच्च कमाण्डर थिए गणेशमान । नेपाली कांग्रेसको सभापति नरहेका उनलाई ‘सर्वोच्च नेता’ को मानार्थ पदवी दिइएको थियो । २०४६ फागुन ७ देखि चैत २६ सम्म ५० दिन चलेको आन्दोलनले तीन दशक लामो पञ्चायत ढालेको थियो । कांग्रेस-कम्युनिस्ट सहकार्यमा भएको प्रथम जनआन्दोलन त्यही थियो, जसको नेतृत्व गणेशमान सिंहले गरे ।
जनआन्दोलनको सफलताले गणेशमान सिंहलाई सन् १९९१ को संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्त शान्ति अवार्डदेखि सन् १९९३ को संयुक्त राष्ट्रसंघको मानव अधिकार पुरस्कार प्रदान गरिएको थियो ।
जनआन्दोलनका सर्वोच्च कमान्डर भएको नाताले २०४७ बैशाख ३ गतेको अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजा वीरेन्द्रले गणेशमान सिंहलाई आग्रह गरे । सिंहले अस्वीकार गरेर तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरे । भट्टराईले प्रधानमन्त्री भएपछि नयाँ संविधानदेखि आम निर्वाचनसमेत गर्न सफल भए ।
२०४८ सालको आम निर्वाचनमा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मदन भण्डारीसँग चुनाव हारे । त्यसपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । तर, प्रधामन्त्री भएपछि गणेशमानलाई उनले वेवास्ता गर्न थाले । भारतसँग गरेको टनकपुर सन्धीलाई सहमति भन्दै लुकाउने प्रयास गरे । सर्वोच्च अदालतले सन्धी नै ठहर गर्दा पनि उनले गणेशमान सिंहको सल्लाह बमोजिम राजीनामा दिएनन् ।
निर्वाचनको घोषणापत्रदेखि सरकारका लोककल्याणकारी कार्यक्रमहरुमा गणेशमान सिंहको सल्लाह मानेनन् गिरिजाप्रसादले । कृष्णप्रसाद भराईलाई अन्तरघात गराएर हराइएकोमा गणेशमानको झनै ठूलो गनासो थियो । केही भन्दा पनि नमानेपछि गिरिजाप्रसादलाई गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराई समर्थक संसदहरुले समेत असहयोग गरे । गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए । संसद भंग गरे र मध्यावधी चुनाव घोषणा गरे । त्यही समयताका गणेशमानले नेपाली कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गरे ।
२०५१ कात्तिक १४ गते उनले सार्वजनिक जानकारी दिएका थिए । ‘मेरो आह्वान’ भनेर निकालेको लामो विज्ञप्तिमा गणेशमान सिंहले लेखेका थिए, ‘.. विवेशकशून्य भावकुतामा बगेर नेपाली कांग्रेसको प्राणहीन साइनबोर्डको पछि लाग्नुभन्दा देश, जनता, प्रजातन्त्र र शहीदहरुप्रतिको आफ्नो कर्तव्य पूरा गर्न उचित ठानेर आफ्नो अन्तरआत्माको आवाज बमोजिम मैले नेपाली कांग्रेसबाट अलग हुने निर्णय गरेको छु ।’
गणेशमान सिंह जस्तो विश्वमा चिनिएको नेताले नेपाली कांग्रेसबाट अलग भएको हेडलाइन विश्वभर फैलिएको थियो । २०५४ असोज २ गते ८४ वर्षको उमेरमा सिंहको निधन भयो ।
३. कृष्णप्रसाद भट्टराई
सन १९४२ को महात्मा गान्धीको भारत छोडो आन्दोलनबाट पक्राउ परेका कृष्णप्रसाद भट्टराई नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक नेता हुन् । नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस मिलेर बनेको नेपाली कांग्रेसको १० सदस्यीय केन्द्रीय समितिमा उनी सहमहामन्त्री थिए ।
भट्टराईको आत्मकथा ‘मेरो म’ मा उनले यसको जानकारी दिएका छन् । नेपाली उनी २०४८ माघमा भएको कांग्रेसको आठौं महाधिवेशनबाट सभापति भएका थिए । नवौं महाधिवेशनबाट नेतृत्वमा गिरिजाप्रसाद कोइराला आएपछि सक्रिय राजनीति त्यागेका भट्टराईले नेपाली कांग्रेसले दोश्रो जनआन्दोलनपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को पक्ष लिएपछि नेपाली कांग्रेससँगको सम्पूर्ण सम्बन्ध टुटाए ।
भट्टराईले भैंसेपाटी निवासबाट २०६४ असोज ९ गते उनले नेपाली कांग्रेसका सभापति तथा सम्पूर्ण महासमिति सदस्यहरुको नाममा पत्र लेख्दै भनेका थिए, ‘.. संघीय लोकतान्त्रिक गणतन्त्रको लामो तर पूर्णतया निरर्थकको नाम दिएर यस ऐतिहासिक संस्थालाई हाम्रा देशका दुई सर्वकालीक स्वर्गीय नेता श्री वीपी कोइराला र गणेशमान सिंहजीलाई चटक्कै बिर्सिएझैं छ । त्यसो हुनाले यस पार्टीसँग अब उप्रान्त मेरो कुनै खालको पनि सम्बन्ध वा सम्पर्क रहने छैन । तपाई सबै सहयोगी साथीहरुसँग अब म भारी मन लिएर सदैवका लागि बिदा लिँदैछु ।’