रुकैया खातुनले पाइन् यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार
काठमाडौं । रुकैया खातुनलाई यो वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा क्रियाशील कपिलवस्तुकी रुकैया खातुनलाई आज पुरस्कार प्रदान गरिएको हो ।
ललितपुरमा भएको एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले खातुनलाई सम्मान पत्रसहित ५० हजार नगद प्रदान गरे ।
खातुनले आफूले पाएको पुरस्कार राशी सामाजिक काममा खर्च गर्ने बताएकी छन् ।
इन्सेक कार्यसमितिको २०८० साउन ९ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उनलाई सम्मानित गर्ने निर्णय गरेको थियो ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।
नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।
नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’ को अवसर पारेर पुरस्कृत गरिँदै आएको छ ।