अपानी फिर्ता लिएर निर्णय सच्याउन माधव नेपालमाथि नेकपा एसका नेताहरूको दबाब – Nepal Press

अपानी फिर्ता लिएर निर्णय सच्याउन माधव नेपालमाथि नेकपा एसका नेताहरूको दबाब

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पछिल्लो कार्य विभाजन र मनोनयनप्रति असहमति जनाउँदै केही नेताले पार्टी छाडेको घोषणा गरेका छन् भने धेरैले निर्णय नसच्चिए राजीनामा दिने तयारी गरेका छन् ।

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय बैठकको निर्णय भनेर विहीवार जारी गरेको अन्तर पार्टी निर्देशन फिर्ता लिन दबाब समेत बढेको छ ।

सम्मानित नेता झलनाथ खनालले समेत अपानी फिर्ता नलिए गम्भीर परिस्थितिको सामना गर्न तयार रहन नेपाललाई भनेका छन् । असन्तुष्ट नेता कार्यकर्ताले देशैभरबाट खनाललाई सो निर्णय उल्ट्याउन दबाब दिएका छन् ।

विशेषगरी केन्द्रीय सदस्य मनोनयन, केन्द्रीय परिषद गठन, केन्द्रीय कमिटीको कार्यविभाजनलगायतका विषयमा गम्भीर विमति रहेको नेकपा एसका एक स्थायी कमिटी सदस्यले बताए । अपानी नसच्चिए देशभरबाटै विद्रोह हुने उनको दाबी छ ।

अपानी जारी भएलगत्तै केन्द्रीय सदस्य राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्याग गरेका छन् । युवा संघका महासचिव दीपक जीएम, केन्द्रीय परिषद सदस्य ओसिम आलमलगायतले पनि यस्तैखाले घोषणा गरेका छन् ।

केन्द्रीय पर्यटन विभागका सदस्य कुमार थापाले विभागको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् भने माधव नेपालकै स्वकीय सचिवसमेत रहिसकेका केन्द्रीय सदस्य मोहन गौतम र झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले समेत निर्णय सच्याउनुको विकल्प नरहेको भन्दै सामाजिक संजालबाटै असहमति जनाएका छन् ।

बैठकमा छलफल नभएको तथा नेताहरूबीच कुनै सल्लाह नभई मनोनयन तथा कार्य विभाजन हेरफेर गरिएकोमा पदाधिकारी तथा सचिवालयकै सदस्यहरू असहमत भएका छन् । यो निर्णय नसच्चिए धेरै ठूलो समस्या आउन सक्ने जानकारी आफूले नेतृत्वलाई गराएको एकजना पदाधिकारीले बताए ।

अनेरास्ववियूको वरिष्ठ उपाध्यक्षबाट बिदा भएका ओसिम आलमलाई केन्द्रीय सदस्य नबनाएकोमा माधव नेपालनिकटकै नेताहरूले आपत्ति जनाएका छन् । जबकी नेकपा एसमा औपचारिकरूपमा आबद्ध नै नभएका कतिपय व्यक्ति केन्द्रीय सदस्य मनोनीत भएकोमा नेताहरूले असहमति जनाएका छन् ।

केन्द्रीय कमिटी सदस्य मनोनयनको मापदण्ड के हो भन्ने समेत कसैले थाहा नपाएको दैलेख इन्चार्जबाट सहइन्चार्जमा घटुवा भएकी सावित्री मल्लले बताइन् । कार्य विभाजनका क्रममा विगतका इन्चार्जलाई सहइन्चार्जमा घटुवा गरिएको आरोप छ ।

पार्टीका पदाधिकारीको कार्य विभाजनसमेत अपमानजनक ढंगले गरिएको भन्दै नेताहरूले तत्कालै अपानी फिर्ता लिएर निर्णय नसच्चिए नेकपा एस अघि बढ्न नसक्ने चेतावनी दिएका छन् ।

याे पनि पढ्नुहाेस् –

माधव नेपालको सर्कुलर- पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकताबद्ध बनाउन जुटौं ( अपानिसहित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर