अमेरिकी राष्ट्रपति चुनावमा भारतीय मूलको चर्चा: एकतर्फ कमला, अर्कोतर्फ उषा – Nepal Press

अमेरिकी राष्ट्रपति चुनावमा भारतीय मूलको चर्चा: एकतर्फ कमला, अर्कोतर्फ उषा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा यही नोभेम्बर महिनामा राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपतिमा जेडी भेन्स उम्मेदवार छन् । भेन्स अमेरिकाको ओहायो राज्यबाट निर्वाचित सिनेटर हुन् । चर्चित लेखक पनि रहेका उनमा अमेरिकी सेनाको मरिन क्षेत्रमा काम गरेको अनुभव छ ।

डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस राष्ट्रपति उम्मेदवार छिन् । उनको उपराष्ट्रपति उम्मेदवारमा टीम वाल्ज छन् । उनी मिनिसोटाका गर्भनर, पूर्वसैनिक तथा पूर्व विद्यालय शिक्षक हुन् ।

रिपब्लिकन पार्टीका उम्मेदवारमा पूर्वराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवारमा वर्तमान उपराष्ट्रपतिको प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धाको दुवै क्याम्पमा भारतीय मूलको दह्रो उपस्थिति छ । भारतीय मूलका उम्मेदवारहरुको देखिने उपस्थिति छ ।

डेमोक्रेटिक पार्टी: जसको राष्ट्रपति उम्मेदवार कमला नै भारतीय मूलकी हुन्

न्यायाधिवक्ता, राजनीतिज्ञ कमलाको मूल भारत हो । उनकी आमा श्यामलागोपालन दक्षिणी भारतको तमिल नाडु राज्यबाट उच्च शिक्षाको लागि १९ वर्षको उमेरमा अमेरिका गएकी थिइन् । अमेरिका पुगेर उनले डोनाल्ड जे. ह्यारिससँग विवाह गरिन् । क्यान्सर अनुसन्धानकर्ता आमा श्यामलाको सन् २००९ मा निधन भएको थियो । उनका पिता अर्थशास्त्री डोनाल्ड जे. ह्यारिस ८३ वर्षका भए । यद्यपि आमासँग पारपाचुके गरेर अलग भएका पिताले हुर्काएनन् कमलालाई । त्यही भएर होला, उनले आफ्ना पितालाई सार्वजनिक कार्यक्रमहरुमा चर्चा गरेकी छैनन् । उनले आमाको कुरा भने पटकपटक गर्दै आएकी छन् । उनले धेरै भाषणमा आफ्नो भारतीय मूलको बारेमा कुरा गरेकी छन् ।

उसो त कमलाकी आमा श्यामलालाई जन्माउने तलिम नाडुको गाउँले कमलाको अपनत्व पनि लिएको छ । थुलासेन्द्रापुरम नामक गाउँमा कमलाका तस्विरहरु सजाइएका छन् । उनलाई नायकको रुपमा प्रचार गरिएको छ । बालबच्चासम्मले कमला चिन्छन् । यसबारेमा बीबीसीले पनि एक फिचर बनाएको छ । गाउँलेहरुको धेरै चाहना छैन । उनीहरुले कमलाले गाउँको नाम भनेको सुन्न चाहन्छन् । कुनै दिन कमला आएको हेर्न चाहन्छन् । अमेरिकी राजधानी वासिङ्टन डीसीभन्दा १४ हजार किलोमिटरको दूरिमा रहेको कमलाकी आमाको गाउँ र मामाको गाउँले उनलाई मिस गरिरहेका कुरा सार्वजनिक भइसकेको छ ।

कमलालाई संयोगहरुले धेरै साथ दिए । उनी गत चुनावमा डेमोक्रेटिक दलकी राष्ट्रपतीय उम्मेदवार थिइन् । पार्टीबाट टिकट ल्याउने मत नपुग्ने भएर दौडबाट हटिन् । पछि राष्ट्रपति भएका जो बाइडेनले उनलाई उपराष्ट्रपति बनाइदिए । अहिलेको चुनावको लागि जो बाइडेन राष्ट्रपतीय उम्मेदवार भइसकेका थिए । डोनाल्ड ट्रम्पसँग चुनावी बहस पनि भइसकेको थियो, तर जो बाइडेनको कमजोर प्रस्तुतिले दल तथा चन्दादाता सबैले दबाब दिएर उनी हट्नुपर्‍यो र उनको स्थानमा उम्मेदवार भएर आइन् कमला ह्यारिस ।

सन् २०१९ जनवरीबाट डिसेम्बरसम्म उनको राष्ट्रपतीय उम्मेदवारीको अभियान चल्यो । तत्कालीन समयमा क्यालिफोर्नियाकी सिनेटर कमलाले आर्थिक अभाव भएको भन्दै अभियान छोडेकी थिइन् । त्यसको तीन महिनापछि सन् २०२० मार्चमा उनले जो बाइडेनलाई साथ दिइन् । पछि जो बाइडेनले उपराष्ट्रपति बनाए । उनले उपराष्ट्रपति हुने प्रथम भारतीय तथा अफ्रिकी मूलकी महिला भएको रेकर्ड बनाइन् ।

गत जुलाई २१ सम्म अमेरिकी डेमोक्रेटिक दलका राष्ट्रपतीय उम्मेदवार जो बाइडेन नै थिए । उपराष्ट्रपति उम्मेदवार कमला नै थिइन्, तर जुन २७ मा डोनाल्ड ट्रम्पसँगको चुनावी बहसमा कमजोर देखिएपछिको चौतर्फी दबाब आएपछि उनले उम्मेदवार त्यागेर कमलालाई समर्थन गरेको सार्वजनिक गरे । यसरी कमलाले विभिन्न संयोगहरुबाट राष्ट्रपति हुने मौका पाइन् र हिलरी क्लिन्टनपछि राष्ट्रपति हुने उम्मेदवार बनिन् डेमोक्रेटिक पार्टीबाट । भारतीय मूलकी आमा र जमाइकल मूलका पिताकी सन्तान कमलाले भारतीय तथा अफ्रिकी मूलबाट राष्ट्रपति उम्मेदवार बन्ने प्रथम महिलाको रेकर्ड पनि अहिले बनाइसकेकी छन् ।

कमलाले अघिल्लो चुनावमा भारतीय मूलको धेरै विज्ञापन गरेको तर यो चुनावमा धेरै अफ्रिकी मूलको विज्ञापन गरेको रिपब्लिकन दलको आरोप छ । यसबारेमा भारतीयभन्दा अफ्रिकी मूलकाहरुको मत धेरै भएकाले उनी अफ्रिकी मूलमा बढी जोड दिन सक्रिय भएको धेरैले अनुमान गरेका छन्, तर कमलाले आफ्नी आमा भारतीय भएको कथा भने छुटाएकी छैनन् ।

रिपब्लिकन पार्टी : जसको उपराष्ट्रपति उम्मेदवार भेन्सकी पत्नी उषा पनि हुन् भारतीय मूलकी

डोनाल्ड ट्रम्पको चुनावी अभियानकी सहकर्मी ‘रनिङ मेट’ जेडी भेन्स छन् । भेन्सकी पत्नीको नाम उषा भेन्स हो । भारतबाट आएका आप्रवासी अभिभावककी सन्तान हुन् उषा । कमला जस्तो फरकफरक देशका आमाबाबु होइनन् उनका । यो कोणमा कमलाभन्दा उषा शुद्ध भारतीय मूलकी हुन् । र, यो मूलको विज्ञापन गरेर भारतीय मतदाता तान्न ट्रम्पको चुनावी अभियान र उनको दल रिपब्लिकन पार्टी सक्रिय छ ।

केही समय अगाडि भएको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्ने प्रमुख वक्ता थिइन् उषा । आफूहरु सुरुमा साथी, पछि प्रेमी र अन्ततः श्रीमानश्रीमती भएको कुरा राख्दै उषाले भाषणमा भनेकी थिइन्, ‘हामी सुरुमा साथी थियौं । जेडीसँग साथी हुन नचाहने को होला र ?’

उनले श्रमजीवी परिवारको सन्तान, बाल्यकाल तनावमा बितेको भन्दै जेडीको तारिफ गरिन् । व्यक्तिगत जीवनबारेमा बोल्दै उनले भनेकी थिइन्, ‘उनले चट्टानी मरिन (सैनिक)को रुपमा इराकमा सेवा गरे, तर उनी फुर्सदमा गर्ने राम्रा आइडियाहरुमा कुकुरसँग खेल्ने बेब नामक फिल्म हेर्ने थियो ।’

सान्टियागोको मध्यम वर्ग भारतीय मूलका परिवारमा जन्मेको कुरा पनि उषाले भाषणमा राखिन् । आफ्ना पति तथा रिपब्लिकन उपराष्ट्रपति उम्मेदवार जेडी भेन्सको भारतीय साइनो जोड्दै उषाले भाषणमा भनेकी थिइन्, ‘मेरै संगतमा लागेर उनले साकाहारी हुन सिके । मेरी आमासँग भारतीय तरकारी पकाउन सिके । उनी हाम्रो परिवारको अभिन्न अंग बने ।’

उनले दशर्कहरुलाई हँसाउँदै भनिन्, ‘मैले देखेदेखिका जेडी उस्तै छन् । दाह्रीबाहेक !’

पेशाले वकिल हुन् उषा । उनले जेडीसँग आफू कक्षाका साथी भएको र क्रमशः प्रेम भएको तीन हप्ता अगाडि प्रकाशन भएको फक्स न्यूजको एक अन्तर्वार्तामा बताएकी छन् । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार ३८ वर्षकी उषाको पूरा नाम उषाचिलिकुरी भेन्स हो । उनले येल विश्वविद्यालयबाट कानून पढेकी हुन् । सन् २०१३ मा जेडीसँगै स्नातक गरेपछि उनीहरुले अर्को वर्ष विवाह गरे । जेडी भेन्सको सन् २०१६ मा प्रकाशन भएको पुस्तक ‘हिलिबिली एलेजी’ मा पनि उनले उषाबारेमा खुलाएका छन् । उनले भनेका छन्, ‘जुन ठाउँ सधैं विदेश जस्तो लाग्यो, त्यही ठाउँमा उषाको उपस्थितिले घर जस्तो बनायो ।’

उषाले फक्स न्यूजसँगको अन्तर्वार्तामा आफू र जेडी फरकफरक पृष्ठभूमिबाट आएकाले हरेक कुरामा एकै निष्कर्ष नआउने भए पनि त्यसले समस्या नभएको बताएकी छन् । उनले भनेकी छन्, ‘जेडीले मेरा कुरालाई गम्भीरतापूर्वक र सम्मानपूर्वक सुन्छन् ।’

रिपब्लिकन पार्टीमा भारतीय मूलका उम्मेदवारको उपस्थितिमा उषामात्रै छैनन् । यस अगाडि राष्ट्रपतीय उम्मेदवार भएका अरु दुई पुरुष र एक महिलाराष्ट्रपतिय उम्मेदवार पनि भारतीय मूलका छन् । विवेक रामास्वामी र हर्षबर्धन सिंह भारतीय मूलका हुन् । विवेक भारतको दक्षिणी राज्य केरेलाबाट अमेरिका पुगेका अभिभावकका सन्तान विवेक ३७ वर्षका हुन् ।

मेडिकल व्यवसायी उनी गतवर्षको राष्ट्रपतीय आकांक्षाको लागि डेमोक्रेटिक पार्टीबाट उठ्दा एक समय लोकप्रियमा तेस्रो स्थानमा आएका थिए । पछि उनले ट्रम्पलाई साथ दिएर छोडे । यस्तै हर्षबर्धन सिहंले पनि रिपब्लिकन पार्टीबाट राष्ट्रपतीय उम्मेदवारी घोषणा गरेका थिए । पछि उनले पनि डोनाल्ड ट्रम्पलाई नै साथ दिए । हर्षबर्धनबाहेक निकी हेली पनि भारतीय मूलकै हुन् । उनले दलबाट राष्ट्रपतीय उम्मेदवारी दिइन्, तर धेरै साथ नपाएर उनले पछि डोनाल्ड ट्रम्पलाई साथ दिइन् ।

विश्वका सात देशमा भारतीय मूलका सरकार तथा राष्ट्र प्रमुख

अमेरिकी राष्ट्रपतीय उम्मेदवारहरुको दुवै कित्तामा भारतीय मूलका अनुहार छन् । केही समय अगाडि बेलायतका प्रधानमन्त्रीबाट बाहिरिएका ऋषि सुनाक पनि भारतीय मूलकै हुन् । अहिले पनि विश्वका एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका विभिन्न देशमा भारतीय मूलका अनुहारहरु सरकार तथा राष्ट्र प्रमुख भएका छन् । यहाँ वर्तमान विश्वका भारतीय मूलका सात सरकार तथा राष्ट्र प्रमुखहरुको चर्चा गरिएको छ ।

१. सिंगापुरका राष्ट्रपति थर्मन सानमुगारत्नाम

सन् २०२३ सेप्टेम्बरमा राष्ट्रपति भएका उनी भारतीय मूलका हुन् । भारतको पनि दक्षिणी क्षेत्रका हुन् ।

२. मौरिससका प्रधानमन्त्री प्रवीण जुगनाथ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शप थग्रहण समारोहमा केही अगाडि आएका थिए प्रवीण जुगनाथ । उनी सन् २०१७ को जनवरीबाट मौरिससको प्रधानमन्त्री छन् ।

३. मौरिससका राष्ट्रपति पृथ्वीराज सिंह रोपुन

रोपुन मौरिससका राष्ट्रपति छन् । उनी सन् २०१९ को डिसेम्बरबाट उक्त पदमा छन् ।

४. ट्रिनिडाड एण्ड टोबागोकी राष्ट्रपति क्रिस्टिन काङ्गालो

काङ्गालो ट्रिनिडाड एण्ड टोबागोमा सन् २०२३ मार्चबाट राष्ट्रपति पदमा छिन् ।

५. गुयनाका इर्फान अली

ल्याटिन अमेरिकी देश जसको विवादित सिमाना भेनेजुयलासँग छ, त्यसका राष्ट्रपति हुन् इर्फान अली । उनी २०२० अगस्तबाट राष्ट्रपति छन् ।

६. सेसेल्सका राष्ट्रपति वाभेल रामकलावन

अफ्रिकी पर्यटकीय देश सेसेल्समा भारतीय मूलका वाभेल सन् २०२० अक्टोबारबाट राष्ट्रपति पदमा छन् ।

७. सुरिनामका राष्ट्रपति चान सान्तोषी

सुरिनामका राष्ट्रपति चान सान्तोषी सन् २०२० को जुलाईबाट पदमा छन् ।

बेलायती उपनिवेशका ‘गिरमिटिया’ मजदुरका सन्तति सरकार तथा राष्ट्र प्रमुख बन्दै

भारत स्वतन्त्र भएपछि र खुला बजार भएपछि बेलायत, अमेरिका, सिंगापुर, अस्टे«लिया, क्यानडा जस्ता देशहरुमा गएका भारती डायस्पोरा उच्च ओहोदामा पुगेका छन् । राम्रो शिक्षा, राम्रो पारिवारिक पृष्ठभूमिका भारतीयहरु ती देशमा गिनेचुनेका पर्छन् । अझ रोचक कुरा त बेलायती उपनिवेशताका भारतबाट कम सेवाशुल्कमा अफ्रिकी देशहरुमा लगिएका बँधुवा मजदुरहरु गिरमिटियाका सन्ततिहरु पनि अहिले ठूलो ओहोदामा पुगेका छन् ।

गिरमिटया मजदुर प्रथा बेलायतले सन् १८३४ देखि १९२० को जनवरी १ सम्म प्रचलनमा ल्याएको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले र सहलेखक श्याम पराण्डेले संयुक्त रुपमा लेखेको लेख ‘दि डायस्पोरिक सक्सेस स्टोरी’मा उल्लेख छ । उनीहरुको लेखअनुसार बिहार, उत्तर प्रदेशदेखि तमिल नाडीसम्मका मजदुरहरुलाई गिरमिटियाको रुपमा फिजी, मौरिसस, ट्रिनिडाड एण्ड टोबागो, सुरिनाम, गुयानालगायतका बेलायती उपनिवेश क्षेत्रहरुमा लगिएको थियो । ती देशहरुमा अहिले तिनै गिरमिटियाका सन्तनीहरुले सरकार तथा राष्ट्र प्रमुखको रुपमा कामगरिरहेका छन् ।

गिरमिटियाका सन्ततिहरुमा सबैभन्दा पहिलोपटक सन् १९५७ देखि १९६४ सम्म छेड्डी जगन गुयानाको प्रधानमन्त्री चयन भएको र उनी पछि सन् १९९२ देखि १९९७ सम्म राष्ट्रपति पनि भएको चौथाइवालेले लेखेको लेखमा उल्लेख छ । चौथाइवालेले गिरमिटिया समुदायले भारतको स्वतन्त्रता आन्दोलनमा पनि साथ दिएको लेखेका छन् ।

भारत स्वतन्त्र हुनुभन्दा अगाडि कति संख्याका गिरमिटिया बेलायती उपनिवेश क्षेत्रमा गए भन्ने आँकडा सार्वजनिक छैन, तर भारत स्वतन्त्र भएपछि बनेको भारतीय डायस्पोरा विश्वको सबैभन्दा ठूलो भएको चौथाइवालेहरुको लेखमा उल्लेख छ । लेखअनुसार भारतको डायस्पोराको आँकडा ३ करोड छ । यसबाट भारतले विदेशमा नेता उत्पादन गर्नेमात्रै नभएर स्वदेशमा विदेशी मुद्रा आर्जन पनि गरिरहेको छ ।

अमेरिकी आर्थिक अखबार फोर्ब्सका अनुसार सन् २०२३ मा विश्वको सबैभन्दा धेरै रेमिटेन्स ल्याउने देश भारत भएको थियो । उसले १२५ अर्ब अमेरिकी डलर रेमिटेन्स भित्र्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *